२ पुस, धादिङ-खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सफल धादिङका ११ ओटा गाउँ विकास समिति र सचिव एवं सहयोगी सस्थाहरु बुधबार सम्मानित भएका छन् ।
धादिङबेसीमा बुधबारबाट सुरु भएको जिल्ला सरसफाई सम्मेलन उद्घाटनको अवसरमा खानेपानी सरसफाई तथा स्वच्छता जिल्ला समन्वय समितिले ११ गाविस, गाविसका सचिवहरु र सहयोगी गैर सरकारी सस्थाहरुलाई सम्मान गरेको हो ।हालसम्म खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएका साविकको मुरलीभञ्ज्याङ, केवलपुर, मैदी, जोगिमारा, महादेवस्थान, किरान्चोक, बसेरी, धुषा, खाल्टे, ढोला र वेनिघाट गाउँ विकास समिति सम्मानित भएका छन् ।
त्यस्तै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने बेला सोही गाविसमा कार्यरत गाविस सचिवहरु तिर्थबहादुर दुवाडी, चुडामणि पुरी (बेनिघाट), रमेश पौडेल (महादेवस्थान), विरबहादुर दुवाडी (खाल्टे), पुरुषोत्तम मिश्र (मैदी), दुर्गा प्रसाद रिजाल (बसेरी) र बाबुराम दुवाडी (ढोला) लाई सम्मान गरिएको छ । सम्मानित भएका गाविसहरुले यस अघि नै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिरहेका छन् ।
त्यसैगरी खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग गर्ने गैर सरकारी सस्थाहरु शान्ति नेपाल, चन्द्रज्योती एकिकृत ग्रामीण विकास समाज, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङ र परिवर्तनका लागि प्रतिवद्ध समाजलाई पनि सम्मान गरिएको छ । गाविस सचिव र सस्थाका प्रतिनिधिहरुलाई स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङ र सभाषद् एवं पूर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सन २०१७ सम्ममा नेपाललाई खुल्ला दिशामुक्त बनाउने लक्ष्य सहित सरकार अघि बढिरहँदा धादिङमा भने अहिलेसम्म ११ ओटा गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।