१६ चैत, नारायणगढ – चितवनको नारायणगढमा सञ्चालन भइरहेको दोस्रो नेपाल मारवाडी क्रिकेट लिग अन्तर्गत मंगलबार भएको खेलबाट मारवाडी युवा मञ्च चितवन क्वाटर फाइलनमा प्रवेश गरेको छ ।
चितवनले मारवाडी युवा मञ्च हेटौंडालाई पाँच विकेटले पराजित गर्दै क्वाटर फाइलनको यात्रा तयार गरेको हो । टस जितेर ब्याटिङ रोजेको हेटौंडाले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय २५ रन बनाउन सफल भयो । एक सय २६ रनको विजय लक्ष्य सहित जवाफी ब्याटिङ सम्हालेको नारायणगढले १७ दशमलब एक ओभर खेल्दै पाँच विकेटको क्षतिमा विजय लक्ष्य प्राप्त गर्न सफल भयो ।
नारायणगढको जितको लागि अजित डागाले ३३ बलमा २९ रन जोडेका थिए । ओपनर ब्याट्स म्यान अमित अग्रवालले १८ बल खेल्दै १६ रन जोडेका थिए भने रन्जन अग्रवालले २१ बलमा १५ रन बनाउन सफल भए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
चितवनका तर्फबाट मनिस पोडारले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए । त्यस्तै, चार ओभरमा २२ रन खर्चिदै एक विकेट र सचिन पोडारले चार ओभरमा १६ रन खर्चिदै एक विकेट लिन सफल भए ।
हेटौंडाका लागि सुमित अग्रवालले नट आउट ५२ बलमा ४४ रन जोडेका थिए । त्यस्तै, दिवस शर्मा ३५ बलमा ३५ रन जोड्दै पेबिलोन फर्किए । अर्का ब्याट्सम्यान चिराग अग्रवालले नट आउट १० बलमा ११ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हेटौंडाको लागि नितेश अग्रवालले चार ओभरमा १४ रन खर्चिदै दुई विकेट लिएका थिए भने अर्का बलर प्रशान्त जैनले चार ओभरमा २३ रन खर्चिदै एक विकेट लिन सफल भए ।
मंगलबारको खेलमा मारवाडी युवा मञ्च चितवनका मनिस पोडार म्यान अफ दी म्याच घोषित भए ।
मंगलबारको म्यान अफ दी म्याचको लागि पुरस्कारको व्यवस्था युरो अटोमोटिभ प्रालि नारायणगढले गरेको मारवाडी युवा संगठनका सचिव सन्दिप अग्रवालले बताए ।
आनन्द पोखरेलबाट