यस वर्षको प्रवेशिका परीक्षा एसएलसी चैत १८ गतेदेखि सुरु हुँदै छ । परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित ढङगबाट सञ्चालन गर्नका लागि के कस्ता तयारी भइरहेको छ त यसै विषयमा धादिङका जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डेसँग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी :
एसएलसी परीक्षाको तयारी कहाँ पुग्यो ?
– एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ । आगामी चैत १८ गतेदखि संचालन हुने प्रवेशिका परीक्षाका लागि हामीले प्रत्येक परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिकाहरु पठाइसक्यौँ । उत्तर पुस्तिकाका लागि केन्द्रलाई जिम्मा दिइसकेको छ । केन्द्रहरुमा उत्तरपुस्तिका पठाउने काम भएसँगै परीक्षालाई मर्यादित र व्यवस्थित बनाउनको लागि तयारी गरिरहेका छौँ ।
यस वर्ष कति विद्यालयबाट कति जना विद्यार्थीहरु परीक्षामा सहभागि हुँदैछन् ?
– जिल्लाभरका १ सय ५२ विद्यालयमा अध्ययनरत विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । जसमा नियमित तर्फ ६ हजार ४ सय ८७ र एक्जाम्टेड तर्फ ८ सय ७८ गरि जम्मा ७ सय ३ सय ६५ जना विद्यार्थीहरु छन् ।
धादिङमा कतिवटा परीक्षा केन्द्रहरु तोकिएको छ ?
– जम्मा २६ वटा परीक्षाकेन्द्र निर्धारण गरिएको छ । अघिल्लो वर्ष २१ वटा परीक्षा केन्द्र निर्धारण गरिएकोमा यस वर्ष ५ वटा थप गरी २६ वटा निर्धारण गरिएको हो ।
एसएलसी परीक्षाका लागि यस वर्ष महेशधर्म उमावि जीवनपुर, मच्छिन्द्र उमावि खानीखोला, महाकाली उमावि सिम्ले, बागेश्वरी उमावि बैरेनी, जनकल्याण उमावि बैरेनी मासटार, आदर्श उमावि गजुरी निर्धारण गरिएको छ । त्यस्तै बागेश्वरी उमावि रिचोकटार, चन्द्रोदय उमावि विशालटार, मिन्दुका मावि नलाङ, देउराली मावि ससाह, नीलकण्ठ उमावि धादिङबेसी, शमिभन्ज्याङ उमावि मैदी, संस्कृत तथा साधारण उमावि मैदी, रानीपौवा उमावि सल्यानटार, अचने उमावि खहरे, बद्रीविशाल उमावि बुढाथुम, मण्डली उमावि फूलखर्क, तामाङखर्क उमावि गुम्दी, महेन्द्रबाराही उमावि कटुञ्जे, बच्छलादेवी उमावि सत्यदेवी, बालमन्दिर मावि धादिङबेसी रहेको छ ।
यस वर्ष सिद्देश्वर उमावि नलाङ, सुनखानी मावि चैनपुर, जनजागृति उमावि थाक्र्रे, गणेशकुण्ड उमावि दार्खा र त्रिपूरासुन्दरी उमावि सल्यानकोट परीक्षा केन्द्र थप गरिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या वृद्धि भएका कारण र परिक्षालाई थप अनुशाशित र मर्यादित बनाऊन परीक्षा केन्द्र पनि थप गरिएको हो ।
परीक्षालाई अनुशासित र मर्यादित बनाऊन के कस्ता प्रयास भइरहेका छन् ?
– हामी यसमा एकदमै लागि परेका छौँ । जिल्लाका सुरक्षा निकाय संगै सम्पुर्ण सरोकारवाला निकायसंग समन्वय गरिरहेका छौँ । सुरक्षाका लागि भनेर हामीले प्रहरी चौकी नजिकै रहेको विद्यालयमा मात्रै परीक्षा केन्द्रको निर्धारण गरेका छौँ । विद्यार्थीलाई शान्त वातावरणमा परीक्षा दिने व्यवस्था मिलाऊन परीक्षा केन्द्रका प्रधानाध्यापकहरु संग पनि नियमित छलफल गरिरहेका छौँ ।
परीक्षा नजिकिए संगै विद्यार्थीहरु हतोत्साहित हुने गर्छन्, यसलाई कम गर्न जिल्ला शिक्षा कार्यलयले के कस्ता कार्यक्रम गरेको छ ?
– हामीले विद्यालय विद्यालयका प्रधानाध्यापकहरु, केन्द्राध्यक्षहरुसाग अन्र्तक्रिया कार्यक्रमहरु गरिसकेका छौँ । उहाँहरुले आ–आफ्नो विद्यालयका शिक्षक तथा अभिभावकहरु संग पनि समन्वय गर्नुहुनेछ । परीक्षा आउनु अगाडिको समय अत्यन्तै महत्वपूर्ण हुन्छ । यस अर्थमा महत्वपूर्ण हो कि, परीक्षाको नजिकका दिनहहरुमा मनको संवेग निकै बढ्ने गरेको हुन्छ । मनमा अनेकन खालका अनुत्तरीत प्रश्नहरु उब्जिने गर्दछन् । यस्ता प्रश्नहरुले निरन्तर रुपमा सताईरहँदा दुःख गरेर तयारी गरेको परीक्षाको समयमा लेख्न नसकिने अवस्था हुन सक्दछ । अनावश्यक तनाव लिने विद्यार्थीहरुमा रातीमा निद्रा नपर्ने, पढेको सबै कुरा बिर्सेको जस्तो हुने, दिमाग नै खाली भएको जस्तो हुने हुन्छ । तर, यो भ्रम मात्रै हो । केही पनि जानेजस्तो नलागेपनि आफूले जानेको विषयवस्तुहरु प्रश्न हातमा परेपछि वा लेख्न थालेपछि भने मज्जासँग लेख्न सकिन्छ ।
ग्रेडिङ पद्धतीले विद्यार्थीहरलाई असर पार्छ कि पार्दैन ?
– यसपालीको एसएलसी परीक्षामा ग्रेडिङ पद्धती लागू हुँदैछ । यो कस्तो होला ? के होला ? कस्तो नतिजा आउने हो ? भनेर झन् अनावश्यक चिन्ता पनि विद्यार्थीहरुमा आउन सक्दछ । अतः परीक्षाका अगाडिका दिनहरुमा कसरी तयारी गर्ने ? के गर्नु हुन्छ र के गर्न हुँदैन भन्ने सवालमा चर्चा गरिने छ । परीक्षाको अगाडिको समयमा जत्ति विद्यार्थीहरुले मिहिनेत गरेर अध्ययन गरिरहेका हुन्छन् अझ त्यो भन्दा पनि बढी अभिभावकहरुले आफ्नो जिम्मेवारी वा भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अधिकांश विद्यार्थीहरुको बानी के रहेको छ भने परीक्षाको तयारी पहिल्यै देखि नै नगरेर जब परीक्षा आउँछ तब मात्रै कस्सिएर रातदिन घोटिएर अध्ययन गर्ने । तर, यो खालको बानी राम्रो हैन । तयारी भनेको लामो समयदेखि नै गर्नु आवश्यक छ । छोटो समयको तयारीले अध्ययन तथा बुझाइमा निखारपन आउनै सक्दैन । तसर्थ, साँच्चिकै ज्ञान हासिल गर्ने र आफूलाई खरो रुपमा उभ्याउँदै सिर्जनशील बन्ने हो भने अगाडिदेखि नै तयारी गर्नु आवश्यक छ । यसो गरेमा ग्रेडिङ पद्धतिको नकारात्मक झुकाव कम हुन सक्दछ ।
परीक्षामा अभिभावकको भुमिका के हुन सक्दछ ?
– यदि यो समयमा अभिभावकहरुको भूमिका प्रमावकारी हुन पाएन भने आफ्ना बालबालिकाहरुको मिहिनेत खेर जान सक्दछ । तसर्थ उनीहरुको आवश्यकता, समस्या लगायतका विषयहरुमा समय समयमा आदानप्रदान गरिरहनु पर्दछ । परीक्षाको समयमा विद्यार्थीहरुमा नैराश्यता आउन पनि सक्दछ, जसका कारण उदासिनता तथा एकोहोरोपना पनि देखा पर्न सक्दछ । यसले गर्दा विद्यार्थीहरुमा मानसिक विछिप्तता उत्पन्न हुन सक्दछ । तसर्थ यी यावत खाले समस्याहरु हुन नदिन र आफ्नो नियमित अध्ययनका साथै पुनरावलोकनलाई निरन्तर रुपमा जारी राख्नका लागि अभिभावकहरुले प्रोत्साहन गर्नुपर्ने हुन्छ । साथै अभिभावकहरुले यो छोरा छोरीको मात्रै नभई हाम्रो पनि परिक्षा हो, यसलाई अनुशाशित र मर्यादित बनाऊनु हाम्रो पनि दायित्व हो भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । कति पय अभिभावकहरु परिक्षा केन्द्रमै जान खोज्ने, चिट चोराउने प्रयास गर्ने जस्ता कार्य पनि गर्न खोज्नुहुन्छ । यो गलत हो । परिक्षालाई अनुशाशित र मर्यादित बनाउन अभिभावको भुमिका उल्लेख्य हुन्छ ।
अन्तमा,
– नजिकिएको एसएलसी परीक्षालाई समाजले यति धेरै महत्व दिएको छ कि कोहि पनि यसको चर्चाबाट बाहिरिन सक्दैनन् । प्राथमिकदेखि उच्चशिक्षाका अन्य तहमा पनि वार्षिक परीक्षा चलिरहेपनि एसएलसी परीक्षाले पाउने चर्चा अन्य परीक्षाको तुलनामा बढी हुनुमा यसलाई सरकार, शिक्षक, अभिभावक र विद्यार्थीले नै हाउगुजीका रुपमा लिनुलाई कारण मानिएको छ । कतिपयले यसलाई सुनौलो ढोका (गोल्डेन गेट) भन्छन् भने कतिपयले फलामे ढोका (आइरन गेट) मान्दै आएका छन् । तर एसएलसीलाई सामान्य र नियमित परीक्षाकै रुपमा लिनु आवश्यक छ । यसका नाममा विद्यार्थीमा त्रास सिर्जना गर्नु हुँदैन । नजिकिंदै गरेको परिक्षालाई अनुशाशित, मर्यादित र सफल बनाऊन अभिभावक, विद्यार्थी, शिक्षकशिक्षिका, सुरक्षा निकाय तथा सम्पुर्ण सरोकारवाला निकायलाई अनुरोध गर्दछु ।