रामकुमार थापा / १३ चैत, धादिङ – सेतै फुलेको कपाल, च्यातिएको सर्ट, चाउरी परेको गाला अनि खाली खुट्टा, नजिकै गएपछि मात्र मान्छे चिन्न सक्ने कुपोनाथ सिंखडा । उनी ८ दशक पार गरिसकेका छन् । सानो जस्ताले छाएको घर, भित्र पस्दा निहरिएर जानुपर्ने, एकै ठाउँमा सबै छरपष्ट सामान, झ्यालको नजिकै एउटा खाट र पुराना कपडाले ढाकिराखेको छ ।
धादिङको नलाङ गाउँ विकास समिति वडा नम्बर ६ बलमडाँडा पुग्दा देखिएको तस्बिर हो । सिंखडा परिवारबाट जयजन्म नभएपछि समाजका व्यक्तिहरुले नराम्रो कुरा काट्न थाले । अपुताको मुख हेर्नु हुँदैन भनेर बाटोमा देख्दा पनि मुख छोपेर हिड्न थालेका थिए । त्यसले गर्दा सिंखडा दम्पत्तिमा धेरै चिन्ता प¥यो । सन्तान नभएकाहरुको हातले छोएको खानेकुरा पनि खादैनथे । समाजले विभेद गर्दा पनि सिंखडा दम्पत्तीको मायाँमा कुनै खटपट आएन । छोरो नपाएको भन्दै महिला माथि हिंसा गर्ने हाम्रो समाजमा सन्तान नहँुदा कुपोनाथले कहिल्यै पनि श्रीमतीलाई गाल्ी गरेनन् ।
सन्तान नपाएको भनेर साथीसंगीहरुले धेरै हेला गर्ने गरेका थिए रे ? पधेरामा पानी लिन जाँदा पानी भरिरहेका महिलाहरु गाग्रीनै छाडेर भाग्ने गरेका थिए, देवकीले गुनासो गरिन् । धेरै अप्ठेरो भयो, धेरै दुख खेप्नुप¥यो तर श्रीमानले कहिल्यै पनी नराम्रो गरेनन् । धेरैले अर्को विहे गर भनेर उचाले तर मेरा श्रीमानले मानेनन् । हुनत कुपोनाथले देवकीलाई दोस्रो श्रीमतीको रुपमा भित्राएका थिए । श्रीमती र श्रीमान्बीच माया भयो भने गाउँलेले जे गरेपनि केहि फरक पर्दैन । त्यसैले सिंखडा दम्पत्ति पनि अरुका कुरा नसुनी जिवनका आरोह र अबरोहमा सामेल भए ।
त्यसैले त हामी पनि त्यो जोडी अहिलेको जस्तै नवजोडी जस्तो छ । उमेरले गर्दा शरीरका अंगहरु बुढौली भएपनि मन र माया भने जस्ताको तस्तै छ, कुपोनाथले मुस्कुराउदै आफ्नो अनुभव सुनाए । मानिसको चोलामा दुख पनि कत्ति पाउनु परेको होला कुपोनाथ सिंखडाले आफ्नो दुख सुनाए । सायद उनले अहिलेसम्म आफ्नो दुख सुनाउने मानिस पाएका छैनन् होला । किनभने स्तम्भकार मौन हुदाँ पनि उनी जिवनका नमिठो अनुभव सुनाउनको लागि हतार देखिन्थे । माया प्रेम भन्ने कुरा नै हुँदैनथ्यो पहिला त, तर अहिले के भएको होला आफ्नै दाजु बहीनी पर्नेहरु पनि माया गर्छन उनले आफुले सुनेको कुरा ओकल्दै गए । श्रीमान र श्रीमती बीच आपसी सम्बन्ध राम्रो भए जिवन फुलैफुलको सुगन्ध हुन्छ ।
फुर्तिका साथ आफ्नो मनका कुरा सुनाउदै गए । जीवन जिउनको लागि उत्प्रेरणा चाहिन्छ, मानिसलाई उत्प्रेरण दिने भनेकै श्रीमानले श्रीमतीलाई र श्रीमतीले श्रीमानलाई हो । आजभोलिका मानिसको बिहे पनि केटाकेटी खेलेको जस्तो । शंकाको भरमा जिवन विताउने श्रीमान श्रीमतीहरु छीनभरमै नदीका दुई किनारा जस्तो बन्छन् । तर सिंखडा दम्पत्तिलाई एउटा कुराले सधै अमिलो बनाउछ । चाहेको सबै कुरा पनि मानिसको चोलामा कहाँ पुग्छ र ? परिवारमा सन्तान नभएको कारण अहिले सबैले हेप्ने गरेका छन् रे कुपोनाथलाई । पहिलो श्रीमतीबाट बच्चा नभएपछि दोस्रो बिहे गरेका थिए देवकीलाई । तर देवकीबाट पनि जयजन्म भएन । पहिलो श्रीमतीको बारेमा भने उनले कुरा कोट्याउन चाहेन ।
खाटो बसेको घाउलाई नचलाउनु नै बेश हुन्छ । आँखाभरी आँशु बनाउदै मलिनो स्वरमा भने बाँचुञ्जेलको साथी यहि एउटी छे, सन्तान भएको भए बुढेस कालको साहरा हुन्थ्यो होला । हामी मर्दा त काजक्रिया पनि गर्ने मान्छे छैनन । श्रीमान श्रीमती बीच निकै साथ र सहयोग छ । श्रीमती घास काट्दै, श्रीमान पछि पछि घाँस बटुल्दै गर्छन् यी दम्पति । सबै काम दुवै जान मिलेर गर्छन् । दिएर बस्तुभाउ र आफुलाई खानको लागि पानी बोक्न लगाएका छन् ।
आफूलाई आएको सामाजिक भत्ताले पानी बोक्ने मानिसलाई पैसा दिने गरेका छन् । सँगै मर्न पाएत हुन्थ्यो, तर त्यस्तो भनेको जस्तो कहाँ हुन्छर कुपोनाथले बिलौना गरे । हामी दुई मध्ये एक जना अघि र एक जना पछि मर्ने निश्चित छ, त्यसबेला हामीलाई कस्तो होला ? अहिले सम्म पनि नराम्रो भएको छैन रे ।
पहिलाको भन्दा अहिले पो बढी मायाँ हुदोरहेछ देवकीले मुस्कुरादै बताइन् । हाम्रो जस्तै सबैको बुढाबुढी बीच यस्तो सम्बन्ध भए कस्तो राम्रो हुन्छ । तर सिंखडा दम्पत्तिले भनेको जस्तो छैन हाम्रो समाज । विहान बिहे गरेको बुढाबुढी साँझ बेग्लै सुर भईसकेको हुन्छ । रुप र स्वार्थले गर्दा अहिले त माया किनबेच हुन्छ । त्यही भएर अहिले यस्तो अवस्था आएको हो । सबैभन्दा बढी श्रीमान श्रीमती बीच विश्वासको वातावरण हुनुपर्छ, एकले अर्कोलाई सम्मान गर्नुपर्छ, काम मिलेर गर्नुपर्छ यति भयो भने माया अजम्बरी हुन्छ ।
कुरा गर्दै जाँदा घामलाई पनि डाँडाले छेक्ने लागिसकेको थियो, चराहरु आफ्नो गुँड खोजिरहेका थिए, मानिसहरु दिनभरी काम गरेर घर फर्कन थालिसकेका थिए । तर स्तम्भकार भने धादिङबेसी सम्म आउनुपर्ने थियो । कुपोनाथको जस्तो सम्बन्ध अरुका श्रीमान श्रीमती बीच भएको भए आज यी सारा दुनिया कस्तो हुन्छ होला । मनले मन सँग कुरा गर्दै झर्दा नलाङ बैरेनी आएको पत्तै भएन ।