१३ चैत, धादिङ – सिरियामा भएको सैन्य कारबाहीको क्रममा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका दोस्रो नम्बरमा कमाण्डर अब्दुल रहमान मुस्तफा अल कादुली मारिएको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी रक्षा मन्त्री ऐस कार्टरले सैन्य कारबाहीको क्रममा आइएसका दोस्रो नम्बरका कमाण्डरसँगै अरु तीन लडाकु मारिएको बताए ।
उनले अमेरिकी सेनाले आइएस विरुद्धको कारबाहीमा सिरिया तथा इराकमा महत्वपूर्ण जित हाँसिल गरेको दाबी गरे। कमाण्डर अब्दुल रहमान गएको बिहीबार मारिएको अमेरिकी अधिकारीले बताएका छन् । हाजी इमानका नामले चिनिने टर्कीस मुलका अब्दुल रहमानको जन्म इराकको मोसुलमा भएको थियो ।
अमेरिकी अधिकारीले रहमानको टाउकोको मूल्य ७० लाख अमेरिकी डलर तोकेका थिए । विशेष सैन्य कारबाहीको क्रममा गएको बिहीबार हेलिकप्टरबाट जमिनमा उत्रिएका सैनिकले रहमानलाई जीवितै पक्राउ गर्ने प्रयास गरेको तर त्यसक्रममा भएको संघर्षका क्रममा उनी मारिएको अमेरिकी रक्षा अधिकारीले बताएका छन् । पहिले बिद्रोही संगठन अल कायदामा रहेका रहमान सन् २०१२ मा जेलबाट रिहा भएपछि आइएसमा सामेल भएका थिए ।