१२ चैत, धादिङ –त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन आगामी वैशाख तेस्रो साता गराउने तयारी गरेको छ ।
शुक्रबार प्रमुख विद्यार्थी संघसंगठनका नेताहरुलाई बोलाई त्रिभुवन विश्वविद्यालयले आगामी स्ववियु निर्वाचनबारे छलफल गरेको छ । ०६५ सालदेखि हुन नसकेको स्ववियु निर्वाचनमा २८ वर्षभन्दा बढी उमेरका विद्यार्थी नेताहरु उम्मेदवार हुन पाउने कि नपाउने भन्नेमा विद्यार्थी संघ(संगठनका नेताहरुको मत बाँझिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारी २८ वर्षे उमेर हदको पक्षमा भए पनि नेपाली कांग्रेस निकट नेविसंघ त्यसको विपक्षमा उँभिएको छ ।
छलफलमा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. डिल्ली उप्रेतीले शैक्षिक सत्र नखलबलिने गरी वैशाख तेस्रो साता स्ववियु निर्वाचन गराउने पक्षमा आफूहरु रहेको जानकारी गराएका थिए । चुनावको मितिमा सबै विद्यार्थी संगठनका नेताहरु सहमत भए पनि उमेर हदको विषयमा भने मत बाझिएको थियो ।