९ चैत धादिङ – अस्ट्रेलियाले भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप त्रिकेटमा पहिलो जित दर्ता गरेको छ ।
सोमबार राति बैंग्लोरमा भएको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई तीन विकेटले हरायो । बंगलादेशले प्रस्तुत गरेको एक सय ५६ रनको लक्ष्य अस्ट्रेलियाले १८ दशमलव ३ ओभरमा सात विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका उस्मान खावाजाले ४५ बलमा ५८, ग्लेन म्याक्सवेलले १५ बलमा २६, शेन वाट्सनले १५ बलमा २१, डेविड वार्नरले ९ बलमा १७ तथा स्टेफन स्मिथले १३ बलमा १४ रन बनाए । बंगलादेशका शकिब अल हसनले तीन तथा मुसफिकर रहिमले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ५६ रन बनायो । उसका लागि महमुदुल्लाहले नटआउट ४९, शकिब अल हसनले ३३ तथा मोहम्मद मिथुनले २३ रन बनाए । अस्ट्रेलियाका एडम जामपाले तीन तथा शेन वाट्सनले दुई विकेट लिए । सुपर टेन अन्तर्गत समूह ‘दुई’ मा रहेको अस्ट्रेलिया एक खेलमा जित र एकमा हार सहित दुई अंक जोड्दै तेस्रो स्थानमा छ । दुवै खेल हारेको बंगलादेश पुछारमा छ । अस्ट्रेलिया पहिलो खेलमा न्युजल्याण्डसँग पराजित भएको थियो । बंगलादेश पाकिस्तानसँग हारेको थियो ।