सरिता श्रेष्ठ –
होली पर्व । एक आपसमा रमाइलो गरी रङ दलेर धुमधामका साथ मनाइन्छ । तराई क्षेत्रमा भने यो पर्व भोलिपल्ट मनाइन्छ । फागुन शुक्ल पूर्णिमाको पावन दिनलाई हामी फागू पूर्णिमा भनेर चिन्छौँ । पूर्णिमा तिथिलाई पर्व पनि भनिन्छ । त्यसैले होला वर्षभरिका १२ वटा पूर्णिमाहरुको महत्व एक भन्दा अर्को विशेष देखिन्छ ।
होलीलाई रंग र उत्सवको पर्व पनि भनिन्छ । धार्मिक, सामाजिक, साँस्कृतिक, ऐतिहासिक सबै दृष्टिकोणबाट फागू पूर्णिमाको अत्यन्त महत्व देखिन्छ । होली पर्व कसरी सुरु भयो भन्ने विषयमा एक प्रचलित कथा पाइन्छ । अघि कश्यप ऋषि तथा दिती मात्ताको पुत्र हिरण्यकाशिपुका चार छोरा थिए – ह्राद, अनुह्राद, संह्राद, प्रह्लाद । ती मध्ये प्रह्लाद विष्णुभक्त थिए ।
आफ्नो शत्रुको भक्ति गरेको भन्दै हिरण्य कश्यपले भक्त प्रह्लादलाई मार्न धेरै कोसिस ग¥यो । यता प्रह्लादले भने विष्णु भगवानको नवधा भक्ति गर्न छाडेनन् । विष खुवायो, हात्तीले कुल्चायो, पर्वतबाट खसाल्यो, सर्पले टोकायो तैपनि प्रह्लादलाई केही भएन । उनी सुरक्षित रहे । केही उपाय नलागेपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकाको सहायताले आगोमा जलाएर मार्ने योजना बनायो । किनकी होलिकालाई ब्रह्माको वरदान थियो – जस्तोसुकै आगोको भुङ्ग्रोले पनि होलिकालाई जलाउन सक्दैन थियो, पोल्दैन थियो ।
ब्रह्माको वरदानको अहंकारले होलिका प्रह्लादलाई काखमा लिएर आगोको भुङ्ग्रोभित्र पसी, तर अभिमानी, अहंकारीलाई वरदानको सत्यताले काम दिन सकेन, भक्त प्रह्लदलाई अग्निले जलाएन तर पापिनी होलिकालाई अग्निले जलाएर भष्म पारिदियो । हिरण्य कशिपुकी बहिनी होलिका दहन भई प्रह्लाद सुरक्षित भएकोमा खुसीले ठूलो उत्सव गरियो । अविर जात्रा भयो, त्यही नै होली पर्वको सुरुवात हन पुग्यो । सत्यका पक्ष पोषक भक्त प्रह्लाद सकुशल रहेर असत्यको प्रतिक होलिका नाश भएको उत्सवमा भक्त प्रह्लादलाई सगुन खुवाएर, सिन्दुर, अविर दलेर, दूवो फूल लछर्किएर महोत्सव मनाइयो । त्यसैबेलादेखि यो उत्सव मनाइँदै आएको पाइन्छ ।
आगोमा डढेको अन्नलाई संस्कृतमा ‘होलका’ भनिन्छ । अघि फागुन शुक्ल पूर्णिमाको दिनमा बृहत यज्ञ गरिन्थ्यो । त्यस यज्ञमा आफ्ना घरमा भित्रिएको नवान्नलाई आहुती दिइन्थ्यो । त्यस आहुतीबाट बनेको तिलक लगाएर मनाइने खुसियाली भएर यस पर्वलाई होलीको उत्सव भनिएको पनि हुनसक्छ ।
प्रत्येक युगमा होली पर्वलाई त्यति नै उल्लासपूर्वक मनाइँदै आएको देखिन्छ । अघि त्रेता युगमा पनि होली पर्वको महत्व भएको देखिन्छ । रघु राजाको पालामा ढुण्डा नामकी राक्षसी थिई । त्यस दुष्टले सबै बालक मार्दथी । राक्षसीको यस्तो चाला देखेर पीडित प्रजाहरु राजा पनि नारद ऋषिको आज्ञा बमोजिम फागुन शुक्ल पूर्णिमाका दिन सबै केटाकेटी मिलेर हाहाहुहु गर्दै नाचगान गर्दै दोबाटो चौवाटोमा आगो बालुन तब राक्षसीको शक्ति नाश हुन्छ भन्ने जानेर त्यसै गर्दा ढुण्डाको नाश भएको र त्यही खुसियालीमा यो पर्व मनाउने प्रचलन सुरु भएको मानिन्छ ।
वास्तवमा फागु शब्दको अर्थ सल्लाको गेडाभित्र रहेको पहेँलो धुलो भन्ने बुझिन्छ । अघि जुन समय अविर, केशरी आदि विभिन्न रंगको चलन थिएन त्यसबेला यही सल्लाको गेडाभित्रको पहेँलो धुलो दलेर फागु मनाइन्थ्यो । फागु दलेर मनाइने पर्व भएको हुनाले यस पर्वलाई फागु भनिन लाग्यो । फागु हर्ष उल्लास, खुसियाली अनि आमोद प्रमोदको पर्व हो । तर केही समय यता आएर यस्तो पवित्र पर्वको मर्यादामा नै आँच आउने गरी हिलो छ्यापछ्याप गरेर, जबरजस्ती कसैको इच्छा विरुद्ध रंग दल्ने, बाटो ढुकेर लोला, बेलुुन हान्ने प्रचलन बढेको देख्दा कता कता साँस्कृतिक मूल्य मान्यता नबुझेको होकी भनेर दुःख लाग्नु स्वभाविकै दहो । धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा सामाजिक मूल््य मान्यता बोकेको फागू पर्व हाम्रो अमूल्य पहिचान हो ।
होलीको ऐतिहासिक परम्परा भिन्नै भएपनि आजकाल होलीका नाममा विभिन्न विकृतिहरु चलेका छन् । केही उदारणहरु पनि छन् । केहि दिन अगाडिको घटना एउटी महिला साथी जो प्लसटुको परीक्षा तयारी गर्दै थिइन् । कलेजमा टिउसन कक्षा चलिरहेको थियो । पढ्नका लागि साथीहरुसँग जाँदै गर्दा कसैले बेलुनले उनलाई हिर्कायो । बेलुनले घाटीमा लाग्यो । उनी ढलिन, लुगा निर्थुक थियो भने कपालपनि भिजेको थियो । सँगै भएका अन्य साथीहरु भागे ।
यस्ता कयै घटनाहरु छन् होलीको नाउमा । काम विशेषले बाहिर निस्किदा लोलाको चोटले घरमै फकर्नु परेको, कसैको कानको जाली नै फुटेको, हात भाँचिएको लगायतका विभिन्न घटनाहरु घटिरहेका छन् । छत छतबाट लोलाको हान्ने, त्यतिमात्र नभएर सिधै बाल्टिन नै हान्ने प्रचलनले होलीको संस्कृति जगेर्ना होइन, विकृतिलाई निम्ताएको आभार हुन्छ ।
होलीको नाममा स्वंय म आफैले पनि लोलाको पीडा खेपेको छु । एसएलसी, प्लसटुको टिउसन कक्षा होस् या अफिसबाट घर फर्कने बेला अथवा काम विशेषले बजारमा हिड्दा, लोलाको पोका तथा बेलुनले निर्थुर्क भिज्नुपरेको अनुभवहरु पनि मेरो सामु ताजै रहेको छ । होली आउन दुई साता बाँकी हुँदा नै लोला हान्ने कुकार्यले समाजलाई नै लज्जित बनाएको छ ।
यतिखेर धेरै विद्यार्थीहरु एसएलसी, प्लस टु परीक्षाकोे तयारीमा छन् । बिहान, बेलुका विद्यालय तथा टिउसन कक्षा लिएर फर्किन समेत हम्मे परेको छ । पढ्न त गइयो, घर फर्किदा निर्थुक्क भिजेर आउनु पर्ने हुन्छ । लोला हान्नका लागि यतिबेला चोक चोकमा गल्ली गल्लीमा अनि घरको छत छतमा दाजुभाईहरु लुकिरहेका छन् । काम विशेषले बाहिर जाँदा ताकि ताकि हान्छन् ।
होलीमा हानिने बेलुनमा पानी भरिएको डल्लो अर्थात लोलाले दिने बाहिरी चोट जसलाई थाहा हुन्छ, त्यो हान्नेलाई थाहा हुन्न । एकछिनको रमाइलोले क्षणभरको खुसी खोसिन सक्छ, जीवनै समाप्त हुन सक्छ त्यसैले होलीको नाउमा विकृतिलाई भित्राउनु भन्दा पनि संस्कृतिलाई संरक्षण गर्न जान्नु पर्छ । अहिले काम विशेषले बाहिर हिड्नेलाई निकै नै पीडादायक बनाएको छ । जीवनमा कहिल्यै नखाएको चोट यो समय बेहार्नु परेको छ ।
क्षणिक रमाइलोले कसैको ज्योति गुम्छ भने, जिवनभर अपांग हुनपर्छ भनेअनि जीवन नै समाप्त हुने अवस्था आउन्छ भने यस्ता कार्यलाई आजैबाट त्याग्नु जरुरी छ । होलीमा जताभावी लोला नहार्नका लागि प्रहरीले पनि अनुरोध गरिरहेका हुन्छन् । तर प्रहरीको अनुरोध कसैले पालना गरेको छैन ।
यहि समाजमा जब होलीको नाममा बिकृति फैलियो कोहि सामाजिक जन्तुले आवाज उठाउन चाहेनन् । जब संस्कार कुसस्कारको रुप लिदै जान्छ, समाजका ऐना, राष्ट्रकागहना आजका युवाहरु मुसुमुसु हाँसेर मात्र टारिरहेका छन् । रमाइलोका नाममा युवाहरुले बढावा दिँदै गएरहेका छन् ।
होलीमा लोलाको प्रयोग भन्दा पनि रङको प्रयोग बढी मात्रामा गर्नुपर्दछ । होली आउनु अगावै विकृति ल्याउने कुकार्यको आजै अन्त्य हुनु जरुरी छ । होलीको नाममा होली आउनु अगावै केटिहरुप्रति लक्षित गरेर लोला हान्नु अपराध सरह ठहरिन्छ । आफू भित्रको कुण्ठा पोख्न त्यस्ता खाले कुकार्यले फागु जस्तो रमाइलो संस्कृतिलाई बदनामी दिएको छ । त्यस्ता हुल्याहाहरूलाई प्रहरी प्रशासनले रोक्ने मात्र होइन, कडा कानुनको दायरामा ल्याउनुपर्छ । अनि मात्र संस्कृतिको बचावट र जगेर्नामा युवाहरुको सक्रियताको पुष्टि हुन्छ । होलीको शुभकामना