३ चैत, धादिङ – भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ ।
सुपर टेन अन्तर्गत मंगलबार राति नागपुरमा भएको खेलमा न्युजिल्याण्डले घरेलु टोली भारतलाई ४७ रनले हराएको हो । सुपर टेन अन्तर्गत समूह ‘दुई’ को खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको एक सय २७ रनको लक्ष्य पछ्याएको भारत १८ दशमलव १ ओभरमा मात्रै ७९ रन बनाउँदा अल आउट भयो ।
भारतका कप्तान महेन्द्रसिंह धोनीले ३० बलमा ३०, विराट कोहलीले २७ बलमा २३ तथा रविचन्द्रन आश्विनले २० बलमा १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । आशिष नेहरा, रविन्द्र जडेडा र जसप्रित बुमराह एक रन पनि नजोडी आउट भए । यस्तै शिखर धवन, सुरेश रैना र हार्दिक पाण्डेयले समान एक एक रन बनाएर पेविलियन फर्किए । रोहित शर्माले पाँच तथा युवराज सिंहले चार रन बाहेक जोड्न सकेनन् ।
न्युजिल्याण्डका मिचेल सन्टनरले चार तथा इसा सोड्हीले तीन विकेट लिए । यस्तै नाथन म्याकुलमले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा एक सय २६ रन बनायो । उसका कोरी एण्डरसनले ३४, लुके रोनचीले नटआउट २१ तथा मिचेल सन्टनरले १८ रन बनाए । भारतका रविचन्द्रन आश्विन, आशिष नेहरा, जसप्रित बुमराह, सुुरेश रैना र रविन्द्र जडेजाले समान एक एक विकेट लिए । भारतले घरेलु मैदान र दर्शकको साथको फाइदा लिने अपेक्षा गरिएपनि त्यस अनुसार प्रदर्शन गर्न सकेन । सन् २००७ मा पनि भारत न्युजिल्याण्डसँग पराजित भएको थियो । तर पछि राम्रो प्रदर्शन गरेर उपाधि जितेको थियो ।