२ चैत, धादिङ – धादिङ क्षेत्र नं १ का स्थानिय नेताहरुलाई विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम दिइएको छ । दुई दिनसम्म संचालन हुने तालिमको मंगलबार एक कार्यक्रमका बीच पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उद्घाटन गरे । उद्घाटन गर्दै उनले बाढी पहिरो, भूकम्प लगायतका जोखिमबाट बच्न पूर्व तयारका लागि तालिमले पाठ सिकाउने बताए ।
स्थानीय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्रको कार्यक्रममा धादिङ प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, धादिङ क्षेत्र नं १ का सभासद् धनबहादुर घले, विभिन्न राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको आयोजना तथा एहिमे विश्व विद्यालय मात्सुययामा जापानको सहआयोजनामा संचालित तालिम विपत्तको पूर्व तयारीका लागि के गर्ने, कस्ता कस्ता तरिकाहरु अपनाउने भन्ने विषयमा छलफल गरिएको छ । तालिममा एहिमे विश्व विद्यालय प्रशिक्षक डा. मिन बहादुर पौडेल क्षेत्री र डा नेत्र प्रकाश भण्डारीले प्रशिक्षण दिइरहेका छन् । तालिममा धादिङ क्षेत्र नं १ का २० गाविसका सबै राजनैतिक दलका अगुवा नेताहरुको सहभागीता रहेको थियो ।