३० फागुन, धादिङ – राष्ट्रिय पुनर्निर्माण अभियानको सुरुवात आइतबारदेखि दोलखाको सिंगटीबाट हुँदैछ ।
बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पले पीडित बनेकालाई स्थायी आवास निर्माण गर्न सरकारले दिने भनिएको अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँका दरले वितरण गरेर अभियानको सुरुवात गर्न लागेको हो ।
पुनर्निर्माण अभियानको सुरुवात गर्ने पहिलो दिन जिल्ला विकास समिति दोलखा र सिंगटीमा सेवा प्रदान गर्ने बैंकबिच सम्झौता हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । जिल्ला विकास समिति र बैंकबिच सम्झौता भए पछि अबको एक हप्ता भित्र बैंकमा खाता खोलेका भूकम्प पीडितलाई अनुदान बापतको पहिलो किस्ताको रकम उपलब्ध गराइने छ । प्राधिकरणका सहसचिव रामप्रसाद थपलिया नेतृत्वको एक टोलीले अनुदान वितरण गर्नेछ ।
अनुदानको रकम दोलखा, काभ्रे, धादिङ, रसुवा लगायत भूकम्प प्रभावित जिल्लाहरुमा क्रमैसँग बाँडिने पनि जनाइएको छ । पीडितको वास्तविक तथ्यांक संकलनको काम सकेपछि अनुदानको रकम वितरण गर्ने बताइएको छ ।