३० फागुन – स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले विजयी यात्रा कायम राखेको छ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ६–० ले हरायो ।
बार्सिलोनाको जितमा नेइमारले दुई तथा लियोनल मेस्सी, एल हाडाडी र आर्डा तुरानले एक एक गोल गरे । गेटाफेका रोड्रिग्वेज विलामुएलाले ८ औं मिनेटमा नै आत्मघाती गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १० औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा मेस्सी गोल गर्नबाट चुके । १९ औं मिनेटमा हाडाडीले बार्सिलोनाको अग्रता दोब्बर पारे ।
३२ औं मिनेटमा नेइमारले व्यक्तिगत पहिलो तथा ४० औं मिनेटमा मेस्सीले अर्को गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाको अग्रता ४–० मा पुग्यो । ५१ औं मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो तथा ५७ औं मिनेटमा तुरानले एक गोल गरेपछि बार्सिलोनाले ६–० को शानदार जित सुश्चित गर्यो ।
जितपछि बार्सिलोनाको २९ खेलबाट ७५ अंक भएको छ । बार्सिलोना दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा ८ अंकले अघि छ । २९ खेलबाट २७ अंक जोडेको गेटाफे १७ औं स्थानमा झरेको छ ।