२९ फागुन, काठमाडौं – राष्ट्रिय फुटबल टिमका खेलाडीद्वय अञ्जन विष्ट र अनन्त तामाङ अभ्यास र ट्रायलका लागि शनिबार युरोप जाँदै छन् । विष्ट र तामाङ शनिबार नेदरल्याण्ड्स प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
उनीहरु टर्किस एयरबाट दिउँसो पौने १ बजे इस्थानबुलका लागि प्रस्थान गर्ने एन्फाले जनाएको छ । एन्फाले शुक्रबार एक कार्यक्रम गरी खेलाडीद्वयलाई विदाई गरेको थियो । उनीहरुले मार्च १३ देखि ३० तारिखसम्म नेदरल्याण्ड्सको मार्बेला युनाइटेड फुटबल क्लबमा अभ्यास गर्ने छन् । खेलाडीलाई विदाई गर्दै एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले युरोपमा अभ्यास गर्ने र ट्रायल दिने मौका पाएको भन्दै यो मौकालाई सदुपयोग गर्न सुझाव दिए । विष्ट र तामाङले राम्रो गरेमा युरोपमा अरु खेलाडीले पनि अभ्यासको मौका पाउने भन्दै उनले खेलाडीलाई अनुशासन नभुल्न सुझाव दिए ।
मार्बेलालले विष्ट र तामाङसँगै बिमल घर्ती मगरलाई पनि अभ्यासका लागि बोलाएको थियो । तर मगर भने चोटग्रस्त भएकाले पछि मात्रै नेदरल्याण्ड्स जाने एन्फाले जनाएको छ । उज्यालो अनलाइनबाट