Thu. Jan 2nd, 2025

भोटेकोसी खुलाउन प्रधानमन्त्रीलाई पत्र

२७ मंसिर, चौतारा – भोटेकोसी पावर कम्पनीले सत्तारूढ दल र सभासदहरूको आहानमा तीन महिनादेखि बन्द आयोजना खुलाउन प्रधानमन्त्री सुशील कोइरालालाई लिखित अनुरोध गरेएको छ । अनौपचारिक लबिङु रहेका भोटकोसीका व्यवस्थापकले समस्या लिखित रूपमा यस्तो आग्रह गरेको यो दोस्रो पटक हो । यस अघि ऊर्जा मन्त्रालयलाई पनि पत्र लेखिसकेको थियो ।

ऊर्जामन्त्री राधा ज्ञवालीले दलका नेता र सभासद्हरूको सहभागितामा छलफल गराउने प्रयास असफल भएपछि कम्पनीले प्रधानमन्त्री कोइरालालाई बिहीबार लिखित अनुरोध गरेको हो । सेयर पाउनुपर्ने माग गर्दै दलहरूले गत असोजको पहिलो सातादेखि आयोजनाको ट्रान्समिसन लाइनको टावर निर्माणमा अवरोध पुर्‍याएर बन्द गराइरहेका छन् ।

निकासको आशामा लामो समय पख्र्यौं, कम्पनीका महाप्रबन्धक नरेन्द्र प्रजापतिले भने, उपाय नदेखेपछि प्रधानमन्त्री कार्यालयमा पत्र दर्ता गराएका छौं । आयोजनाले पत्रमा दलहरूसँग पटकपटक वार्ता गर्दा पनि समस्या उस्तै रहेकाले प्रधानमन्त्रीबाटै पहल गरिदिन आग्रह गरेकोु उल्लेख छ । आयोजनाले हालसम्म भएका वार्ता, दलहरूले राखेका माग र कम्पनीको अवस्था पत्रमार्फत जानकारी गराएको छ । आयोजना बन्द गरेर सेयर माग गर्ने एजेन्डाु मा सत्तापक्ष र प्रतिपक्ष दलका सबै नेता तथा सभासदहरू एकमत देखिँदै आएका छन् । यसअघि डेढ साताअघि ऊर्जामन्त्री ज्ञवालीले सत्तारूढ पार्टीको हैसियतमा कांग्रेस र एमालेका सभासद तथा नेताहरूलाई मन्त्रालय बोलाएकी थिइन् । एमालेका केही नेताबाहेक अन्य पार्टीका नेता तथा सभासद अनुपस्थित भएपछि बैठक हुन सकेको थिएन । दलका नेताहरूको अनुरोध स्थानीय तहका कार्यकर्ताले नमानेपछि आयोजना सुचारु हुन नसकेको हो । आयोजनासँग नेपाली कांग्रेसले कम्तीमा १० र चार दलीय मोर्चाले ३५ प्रतिशत सेयर पाउनुपर्ने माग राख्दै आएका छन् ।

१४ वर्षदेखि उत्पादन दिइरहेको आयोजनामा सुरुमा अमेरिकीले लगानी गरेका थिए । हाल ९५ प्रतिशत नेपालीको स्वामित्वमा आइसकेको छ । सुरुमा डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) गरेर प्राधिकरणलाई ठूलो घाटा पुर्‍याएको आवाज उठे पनि अहिले भने सेयरको माग प्रमुख रूपमा अघि सारिएको छ । उत्पादन बन्द हुँदा दैनिक ८६ लाख बराबरको विद्युत् खेर गइरहेको छ ।
(इ-कान्तिपुर अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: