Sun. Mar 16th, 2025

प्रयोगमा आएनन् गोरखा दरबारका हेलिप्याड !

२७ फागनु गोरखा–  तत्कालीन राजपरिवारलाई गोरखा दरबारस्थित कालिका मन्दिर दर्शन गर्न दरबार छेउमा बनाइएको दुईवटा हेलिप्याड राजतन्त्र हटेको नौ वर्ष बितिसक्दा पनि प्रयोगमा आएको छैन ।

राजाको कुलदेवता कालिका मन्दिर दर्शनका लागि बर्सेनि दुईपटक हेलिकप्टर चढेर यही हेलिप्याडमा राजासहित परिवारका सदस्य अवतरण गर्दथे । बडादसैँको पञ्चमी र चैतदसैँको अष्टमीका दिन राजा गोरखा दरबार आउँदा मात्रै यी हेलिप्याड प्रयोग गरिन्थ्यो । माथिल्लो हेलिप्याडमा राजालाई अवतरण गरिन्थ्यो भने तल्लो हेलिप्याडमा नेपाली सेनाको हेलिकप्टर अवतरण हुँदै आएको थियो । प्रयोगविहीन रहेका दुईवटा मध्ये तल्लो हेलिप्याड सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

“हेलिकप्टर चढेर गोरखा दरबार, कालिका मन्दिर र गोरखनाथ गुफा दर्शन गर्न आएका भक्तजनले हेलिप्याड  प्रयोग गर्न पाएनन्”, स्थानीयवासी सबिन खड्काले भन्नुभयो, “दरबारमा अवतरण गर्न नपाएपछि रङ्गशालामा हेलिकप्टर अवतरण गर्नुप¥यो ।” दर्शनार्थी बोकेको मनाङ र फिस्टेल एअरका हेलिकप्टर दरबारमा ल्यान्ड गर्न नपाएर हालै रङ्गशालामा ल्यान्ड गरेको थियो ।

गोरखाको स्थानीय प्रशासन र दरबार हेरचाह अड्डाले ती हेलिप्याडमा हेलिकप्टर ल्यान्ड गर्ने अनुमति नदिएका हुन् । “रङ्गशालामा पनि अब हेलिकप्टर ल्यान्ड गर्न खेलकुद विकास समितिले रोक्ने गरेको छ”, खड्काले भन्नुभयो । नेपाली सेनाले प्रयोग गर्दै आएको ठिङ्गुरेस्वाँराको हेलिप्याड साँघुरो छ । त्यहाँ ओर्लेर दरबार आउन पायक पर्दैन ।

गत वैशाखमा गएको भूकम्पपछि दरबारको हेलिप्याड प्रयोगमा आएको छैन । उद्धार र राहतमा खटिएका हेलिकप्टर त्यसबेला ठिङ्गुरेस्वाँरा र सदरमुकाम वरपरका खेतमा ल्यान्ड भएका थिए । भूकम्पको त्रासले घरमा बस्न छाडेर सदरमुकामवासी रङ्गशालामा त्रिपाल टाँगेर बसेका थिए ।

“भूकम्पले दरबार हल्लाएको छ । झन् कच्ची बनाएको छ”, उहाँले भन्नुभयो, “माथिल्लो हेलिप्याड प्रयोगमा ल्याउनु हुन्न । तल्लो हेलिप्याड प्रयोगमा ल्याउँदा केही असर पर्दैन ।” दरबार हेरचाह अड्डाले निश्चित रकम लिएर हेलिकप्टर ल्यान्ड गर्न दिनुपर्ने खड्काको भनाइ छ ।

गोरखा दरबारका मुख्य पुजारी प्रदीपनाथ योगीले मोटरबाटो खुलेकाले हेलिप्याडको प्रयोग नभएको हुनसक्ने अनुमान गर्नुभयो । “इतिहासलाई तोडमोड गर्ने र भत्काउने गर्नु हुँदैन”, उहाँले भन्नुभयो ।  राजाका पालामा बनेका संरचना द्वन्द्वकालमा भत्काइएकामा उहाँको आपत्ति थियो । उक्त हेलिप्याड विसं २०४०÷४१ मा निर्माण भएको हो ।

गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेशप्रसाद भट्टराईले माथिल्लो हेलिप्याड सञ्चालनमा ल्याउन नसकिने बताउनुभयो । “रूख काटेर तल्लो हेलिप्याड सञ्चालनमा ल्याउन सकिन्छ । हेलिकप्टर ल्यान्ड गर्न पुरातत्व बिभाग र प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिन्छ,” उहाँले भन्नुभयो । भूकम्पका कारण माथिल्लो हेलिप्याडको एक छेउ चिरा परेको र हेलिकोप्टर बस्दा हावाले दरबारको छाना उडाउने उहाँको भनाइ छ ।

About The Author

अन्य समाचारहरु: