काठमाडौं -राष्ट्रकवि माधव घिमिरेलाई एक लाख रुपैयाँसहितको नूरगंगा बालसाहित्य राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिएको छ। नूरगंगा प्रतिभा पुरस्कार गुठीले शुक्रबार राजधानीमा प्रदान गरेको पुरस्कारले यसै वर्षदेखि बालसाहित्यतर्फको पुरस्कारको राशि ५१ हजारबाट एक लाख रुपैयाँ बनाएको हो। गुठीका अध्यक्ष प्राडा चूडामणि बन्धुले घिमिरेलाई पुरस्कार प्रदान गरेका थिए।
गुठीले प्रत्येक वर्ष दिने अन्य पाँच पुरस्कार पनि प्रदान गर्यो। राष्ट्रकवि घिमिरेले २५ हजार राशिको नूरगंगा लुम्बिनी अञ्चलस्तरीय लोकगायन स्थापित पुरस्कार पाल्पाका दुर्गा रायमाझीलाई प्रदान गरेका थिए।
यसैगरी, १५ हजार राशिका नूरगंगा राष्ट्रिय लोकगायन नवप्रतिभा पुरस्कार र नूरगंगा लुम्बिनी अञ्चलस्तरीय नवप्रतिभा साहित्य पुरस्कार अनुपम रोशीलाई प्रदान गरिएको थियो। २०७० सालको नूरगंगा पाल्पा जिल्लास्तरीय शैक्षिक पुरस्कार छात्रातर्फ जिल्लामा सर्वोत्कृष्ट अंक ल्याउने जनता नमुना उच्चमाविकी सिर्जना बस्याल र शारदा उच्चमाविका सागर पाण्डेलाई सात हजार नगदसहित प्रदान गरिएको हो।
राष्ट्रकवि घिमिरेले नेपाली बालसाहित्य भाषाका कारण भित्री अर्थमा अन्य देशको भन्दा उत्कृष्ट भएको बताए। ुबालबालिकालाई प्रकृतिसँग साक्षात्कार गराउनै पर्छ। त्यस्तो खेल सिर्जनाका निम्ति हुन्छु, उनले भने।
घिमिरेले टालाटुली बटुली कति राम्री पुतली, घामपानी घामपानी आकाशकी रानीजस्ता कालजयी बालसिर्जना गरेका छन्। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राध्यापक राजेन्द्र सुवेदी, संरक्षक नूरप्रताप राणा, गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मालगायतले बोलेका थिए।
(अन्नपूर्ण अनलाइनबाट साभार)