Sun. Mar 16th, 2025

बसबाट ५२ किलो गाँजा बरामद, चालक पक्राउ

२४ फागुन, रत्ननगर – जिल्ला प्रहरी कार्यालय चितवनले चालक बस्ने सिटमाथि हुटमा लुकाइछिपाई राखिएको अवस्थामा साढे ५२ किलो गाँजा बरामद गरेको छ । ट्रकमा गाँजा ओसारपसार भइरहेको छ भन्ने सूचनाका आधारमा प्रहरीले खोजी गर्दा उक्त परिमाणको गाँजा फेला पारिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गाडी चालक मकवानपुर नामटारका विकेश लामा रहेका छन् । गाडीमा सिलप्याक गरेर राखिएको सातवटा पोकामा गाँजा फेला परेको हो ।

ना २ ख ७१९९ नम्बरको ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरी सहायक निरीक्षक सिकेन्द्र साहको टोलीले आइतबार गाँजा बरामद गरेको हो ।

लागुऔषध ओसारपसारअन्तर्गत अहिले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सो क्षेत्र भएर विगतदेखि नै गाँजा ओसारपसार हुने गरेको छ । अघिल्लो वर्ष सोही क्षेत्रअन्तर्गत पर्ने पहाडी इलाकामा प्रहरीले करिब १० बिगाहा क्षेत्रमा लगाइएको गाँजाखेती नष्ट गरेको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिए । बर्सेनि विकट लोथर र कोराक गाविसमा गएर प्रहरीले गाँजा नष्ट गर्ने गरेको भए पनि पूर्ण नियन्त्रणमा भने आउन सकेको छैन ।

सो क्षेत्रमा हतियारसहितका तस्कर हिँड्ने गरेका छन् । एक वर्षअघि यहाँ प्रहरीसँगको भिडन्तमा एक तस्करको ज्यानसमेत गएको थियो । रासस

About The Author

अन्य समाचारहरु: