२० फागुन, काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने भएकी छिन् । सभापतिमा आफ्नो उम्मेदवारी फिर्ता गर्दै उहाँले पौडेललाई समर्थन गर्न लागेकी हुन् ।
बुधबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरे लगत्तै पौडेल र सुजाताबिच सहमति भएको हो । कांग्रेस नेतृत्वको सरकार बनेको अवस्थामा सुजातालाई प्रधानमन्त्री बनाउने पौडेलले आश्वासन दिएका छन् । यस्तै पौडेलले विधान संशोधन गरेर सुजातालाई महिला उपाध्यक्ष बनाउने पनि आश्वासन दिएका छन् ।
यसअघि वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको असहमतिका कारण विधान संशोधन प्रस्ताव दर्ता नभएपनि महाधिवेशनपछि आफू सभापति भएमा महासमिति बैठक बोलाएर संशोधन गर्ने पौडेलको भनाई छ । यस्तै कार्यसमितिमा मनोनित हुने २१ जनामध्ये ५ जना सुजाताले भनेको मान्छे राख्न पनि पौडेल सहमत भएका छन् ।
उज्यालो अनलाईनबाट