१९ फागुन, धादिङ – धादिङ जिल्लामा फागुन २० गतेदेखि पोषण सप्ताह अभियान सञ्चालन हुने भएको छ । कार्यक्रमका लागि गाँउ गाँउमा स्वास्थ्य स्वंमसेवकहरुलाई परिचालन गरिएको छ ।
पाँचवर्ष मुनिका बालबालिका र सुत्केरी महिलाहरुमा हुने कुपोषण न्युनिकरण गर्नका लागि पोषण सप्ताह अभियाको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।
फागुन २० गतेदेखि २३ गतेसम्म जिल्लाको १ वटा नगरपालिका सहित ४६ वटा गाँउ विकास समितिहरुमा सञ्चालन गरिने अभियानका लागि बुधबार धादिङबेसीमा जिल्ला स्तरीय अभिमूखिकरण कार्यक्रम गरिएको छ ।
आपतकालीन अवस्थामा कुपोषणको जोखिममा परेका गर्भवति, सुत्केरी तथा बालबालिकाहरुको पोषणको अवस्था सुधार गरी उनीहरुको जीवन रक्षा गर्न र खानपान तथा अन्य पोषण सम्बन्धी व्यवहारमा परिवर्तन ल्याउने उद्देश्यका साथ संचालन गर्न अभियान संचालन गर्न लागिएको हो । जिल्ला अस्पताल धादिङबेसी सहित जिल्लामा रहेका ११ वटा स्वास्थ्य संघसंस्था मार्फत कुपोषणको अभियान सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले जानकारी दिए ।
अभियानका क्रममा स्तनपानर पुरक खानाको प्रबद्र्धन, संरक्षण र सहयोग गर्ने, मध्यम शिघ्र कुपोषणको व्यवस्थापनको लागि थप आहार कार्यक्रम, कडा शिघ्र कुपोषणको व्यवस्थापन कार्यक्रम, सुक्ष्मपोषण तत्व कार्यक्रम अन्र्तगत बाल भिटा र भिटामिन ए वितरण तथा गर्भवति र सुत्केरी महिलाहरुका लागि आइरन फोलिक एसिड चक्कि वितरण लगायतका क्रियाकलाप गरिनेछ ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङ, युनिसेफ र एनट्यागको संयुक्त पहलमा पोषण सप्ताह अभियान सञ्चालन गर्न लागिएको हो । धादिङमा अहिलेसम्म कडा खालको कुपोषण ८७ जनामा, मध्यमखालको कुपोषण १ हजार ७७ जनामा र सामान्य खालको कुपोषण २६ हजार जनामा देखिएको छ । सबैभन्दा बढी कुपोषण धुषा र सेर्तुङमा देखिएको छ ।