१३ फागुन, दाङ – युवा पत्रकार एवं साहित्यकार सविन प्रियासनले प्रकाशन गर्न लागि रहेको पुनरागमण उपन्यासको बिक्रीबाट संकलित रकम अशक्त बालबालिको शिक्षामा लगाइने भएको छ ।
उपन्यासकार प्रियासनले पुनरागमन उपन्यासको बिक्रीबाट संकलन हुने रकम अशक्त बालबालिकाको शिक्षामा खर्च गर्न लागि रहेको बताएका छन् । पत्रकार महिलाको संघर्षमा आधारित पुनरागमन उपन्यास फागुनको अन्तिम सातामा बजारमा ल्याउने तयारी गरिएको छ । आफू र शुभेच्छुकहरुको सहयोगमा उपन्यास प्रकाशन गर्न लागि रहेकाले उक्त उपन्यासबाट संकलन हुने रकम अशक्त बालबालिकाको सहयोगका लागि खर्च गरिने प्रियासनको भनाइ छ ।
‘साथीभाई एवं शुभेच्छुकहरुले उपन्यास प्रकाशनका लागि सहयोग गरेका कारण यसको बिक्रीबाट संकलन हुनेरकम अशक्त बालबालिकाको शिक्षामा लगाउने सोंच बनाएको छु’–प्रियासनले थपे –‘उपन्यास कति बिक्री हुन्छ, थाहा छैन, तर जेजति संकलन हुनेछ, सबैले थाहा पाउने गरी बालबालिकाको शिक्षामा खर्च गर्नेछु ।’
यस अगाडि पनि जिल्लाका दृष्टिबिहीन, अपांग बालबालिकालाई विभिन्न समयमा सहयोग गर्दै आएका प्रियासनले आफ्नो पहिलो उपन्यास रोदनपछिको… बिक्रीबाट संकलित रहक घोराहीस्थित अपांग संघलाई प्रदान गरेका थिए । उपन्यासमा नायिका नम्रता श्रेष्ठ अतिथि पात्रका रुपमा समेत प्रस्तुत गरिएको प्रियासनको भनाइ छ । नायिका नम्रता श्रेष्ठको जीवनमा आधारित रहेर उपन्यास लेख्ने क्रममा पुनरागमन उपन्यास तयार भएको जानकारी दिदैं प्रियासनले यस लगत्तै नायिका नम्रताको बारेमा लेखिएको उपन्यास बजारमा ल्याउने तयारी गरिरहेको बताए ।
पुनरागमन उपन्यासमा पत्रकारिताका विविध पाटाहरु समेटिएको र पत्रकार महिलाहरुलाई सञ्चार क्षेत्रमा स्थापित हुन, टिक्न के कस्ता अफठ्याराहरु पर्दछन् भन्ने विषयमा आधारित रहेको बताउँदै प्रियासनले उपन्यासले धेरैको मन छुने विश्वास व्यक्त गरे ।
राप्ती साहित्य परिषद्का केन्द्रीय महासचिव, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं राप्ती अञ्चल इञ्चार्ज, नेपाल पत्रकार महासंघ दाङका सल्हाकारलगायतका सामाजिक संघसंस्थामा आबद्ध प्रियासनले हालसम्म २ वटा उपन्यास, १ वटा कथा संग्रह, १ वटा सम्पादकीयको संग्रह प्रकाशन गरिसकेका छन् । दाङबाट निस्कने गणतन्त्र दैनिकका सम्पादक प्रकाशक समेत रहेका प्रियासन साहित्य एवं पत्रकारितासँग सम्बन्धित दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेका छन् ।