५ फागुन, धादिङ – किशोर किशोरीहरुलाई यौन तथा प्रजनन अधिकारका बारेमा जानकारी दिने, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेत बनाउने र शारीरिक, मनोबैज्ञानिक परिवर्तन र आइपर्ने समस्या समाधान गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले सल्यानटार गाविसमा मंगलबारदेखि सुरु भएको दुई दिने तालिम बुधबार सम्पन्न भएको छ ।
सल्यानटार गाविस वडा नम्बर ७ माझिगाउँमा भएको कार्यक्रममा सल्याटार गाविस भित्रका दुई वटा माध्यमिक विद्यालय र तिन वटा निम्न माध्यमिक विद्यालयका ३० जना किशोर किशोरीको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैगिंक हिंसा, हिंसाको कारण असर र कानुनी व्यवस्था, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा प्राथमिक स्वास्थ्य चौकी सल्यानटारका रुपा अधिकारी र जीवन जीउने कलाको बारेमा सहयात्री समाज नेपालका कार्यक्रम व्यवस्थापक रमेश अधिकारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा भुकम्प पछि किशोर किशोरीहरुमा आइपरेका समस्याहरुका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका सहभागीहरुले भुकम्पका कारण नियमित विद्यालय जान नपाएको, घर भत्किएको कारण पढ्न समस्या भएको, धेरै जना एकै ठाउँमा बस्नु परेकोले किशोरीहरुलाई महिनावारी हुँदा बस्न गार्हो भएको बताएका थिए ।