४ फागुन, रत्ननगर – चितवनका सडक क्षेत्रमा अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय व्यवस्थापन अभियान सुरु भएको छ ।
सञ्चालन हुँदै आएको फुटपाथका कारण सडक आवागमनमा नै असहज स्थिति पैदा भएको भन्दै अतिक्रमण भएको क्षेत्र खाली गर्दै त्यहाँका पसल हटाउन सुरु गरिएको भरतपुर उपमहानगरपालिकाले जनाएको छ ।
भरतपुर क्षेत्रमा सडक अतिक्रमण गरी फुटपाथ व्यवसाय सञ्चालन गरेका फुटपाथ व्यवसायलाई हटाउन थालिएको उपमहानगरका कार्यकारी अधिकृत महेश बरालले बताए ।
सडक किनारामा राखिएका ठेला व्यापारले सवारी आगमनमा समस्या हुनका साथै बजार क्षेत्रमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहलमा उपमहानगरपालिकाले फुटपाथ पसल र सडक किनारका ठेला व्यापारीलाई हटाउने अभियान सुरु गरिएको हो ।
शनिबार र आइतबार चौबीसकोठीबाट पश्चिमतर्फ जाने सडक तथा भरतपुर अस्पताल परिसरका ठेला राख्ने फुटपाथ व्यवसायीलाई हटाइएको छ । आज पनि विभिन्न क्षेत्रमा अभियान सञ्चालन गर्ने उपमहानगरले जानकारी दिएको छ ।
फुटपाथ व्यवसायीले ट्राफिक अस्तव्यस्त बनेका कारण फुटपाथ व्यवसायीलाई हटाउनका लागि पहल थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवालले जानकारी दिए।
“भरतपुरको चौबीसकोठीमा ट्राफिक जाम अत्यधिक हुन्थ्यो त्यहाँ सवारी दुर्घटना पनि बढी भएका छन्” उनले भने– “अहिले हामी चौबीसकोठीमा रहेका १०० भन्दा बढी टहरा हटाएर सवारी आवतजावतमा व्यवस्थित गरेका छौँ ।”
फुटपाथ व्यवसायीका कारण भरतपुरको चौबीसकोठीको आवतजावतमा निकै समस्या हुने गरेको मोटरसाइकल चालक कृष्ण मल्लले गुनासो पोखे ।
भरतपुर उपमहानगरपालिकाले फुटपाथ व्यवसायीका लागि छुट्टै स्थान उपलब्ध गराउनुपर्ने फुटपाथ व्यवसायी बताउँछन् । फुटपाथ व्यवसायी लक्ष्मी शर्माले आफूहरुलाई एक ठाउँमा व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए।
भरतपुर उपमहानगरपालिकाले खुद्रा व्यापारका लागि नारायणगढ बालकुमारी उच्च माविको एक बिगाहा जग्गा भाडामा लिएर सटर बनाएको छ । त्यहाँ अहिले १०० वटा फलफूल कक्ष र २२ वटा मासुका कक्ष छन् ।
भरतपुर उपमहानगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित तरिकाले फुटपाथ व्यवसाय सञ्चालन गर्नेलाई सार्वजनिक मुद्दासम्म लगाउने तयारी गरेको छ । यहाँ यसअघि पनि फुटपाथ व्यवसाय हटाइएको भए पनि समस्या समाधान हुन सकेको छैन । रासस