३ फागुन, चितवन – जिल्ला कृषि विकास कार्यालय चितवनले तरकारीखेती गर्ने युवा कृषकलाई यो वर्ष ३६ लाख रूपैयाँ प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ ।
युवा लक्षित कार्यक्रमअन्तर्गत सो रकम दिनका लागि ६८ जना कृषकको छनोट गरिएको छ । बागवानी विकास अधिकृत धनबहादुर थापाका अनुसार १९९ जना युवा कृषकले आवेदन दिएकामा ६८ जनालाई छनोट गरिएको हो ।
उनीहरुमध्ये पहाडका २४ जनालाई प्रतिव्यक्ति ४० हजार रूपैयाँ र तराईका ४४ जनालाई प्रतिव्यक्ति ६० हजार रूपैयाँका दरले अनुदान दिइने छ ।विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका आर्थिक रुपमा तरकारीखेती गर्न केही लगानी गर्न सक्ने १८ देखि ५० वर्षसम्मका कृषकलाई यो अनुदान दिइने उनले बताए ।
तराईमा कम्तीमा एक मौसममा एक बिगाहा र पहाडमा सात कट्ठा १० धुरमा तरकारी खेती गर्ने व्यावसायिक कृषक अनुदानका लागि छनोटमा पर्ने गर्दछन् ।यसअघि पहिलो वर्ष ६० जनालाई र दोस्रो वर्ष ४५ जनालाई यो अनुदान रकम वितरण गरिसकिएको छ ।
छनोटमा परेकाहरुलाई आजबाट तालिम दिइँदै छ । तीन दिनसम्म तालिम दिएपछि उनीहरुलाई दुई किस्ता गरेर अनुदान रकम दिइने थापाले बताए ।यस वर्ष चितवनमा छ हजार ३०० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारीखेती गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।जिल्लामा पूर्णरुपमा व्यावसायिक तरकारीखेती गर्ने कृषकको सङ्ख्या ४०० भन्दा बढिरहेको छ । रासस