१ फागुन धादिङ – १२ औं सागको महिला फुटबलमा नेपालले श्रीलंकालाई ४-० को अन्तरले हराएको छ । शनिबार भएको लिगको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ले हराएको हो ।
सिलोगस्थित जवहारलाल नेहरु स्टेडियममा शनिबार भएको समूहको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ४ शुन्यले स्तब्ध बनाउँदै अपराजित यात्रा कायम राखेको हो । समूहको शीर्षस्थानमा रहेको नेपालले खेलको सुरुआत देखिनै श्रीलंकालाई दबावमा राखेको थियो । खेलको सुरुआती १५ मिनेटभित्र पहिलो गोल गरेको थियो । मनमाया लिम्बुले डि बक्सबाहिरबाट प्रहार गरेको फ्रि किकमा श्रीलंकन खेलाडीले आत्मघाती गोल गरेका थिए । उक्त फ्रि किकमा श्रीलंकन खेलाडी एजे परेराले हेड गर्दा गोलरक्षक एजेम विजारत्ने स्तब्ध भएकी थिइन् ।
त्यसपछि नेपालले थप राम्रो मुभ बनाएको थियो । पहिलो हाफमा एक शुन्यले पछि परेको श्रीलंकाको टोली दोश्रो हाफ निरिह बन्यो। अर्कोतर्फ श्रीलंकालाई दबावमा राख्न सफल नेपालका लागि खेलको ६३ र ७४ औँ मिनेटमा अग्रपक्तिका खेलाडी सावित्रा भण्डारीले गोल गरेकी थिइन् । त्यसपछि पुन खेलको ७९ औँ मिनेटमा मध्यपंक्तिका सपना लामाले गोल गरेकी थिइन् ।
यससंगै नेपाल समूहमा १० अंकका साथ पहिलो स्थानमा रहदै फाइनलमा पुगेको छ । नेपालले यसअघि भारतसंग बराबरी, बंगलादेशलाई ३ शुन्य, मालदिभ्सलाई २ शुन्यले हराएको थियो । अर्कोतर्फ आजै हुने भारत र बंगलादेशबीचको खेलमा जित हात पार्ने टोलीले फाइनलमा नेपालको सामना गर्नेछ ।