सरिता श्रेष्ठ / २५ माघ, धादिङ – पर्यटकिय स्थलको रुपमा परिचित धादिङको खाल्टेका स्थानीयहरु स्थायी घर बनाउन जुटेका छन् । भूकम्पले त्यहाँ रहेको सम्पूर्ण घरधुरी भत्काएपछि खाल्टे गाँउ विकास समितिको वडा नं १ का स्थानीयहरुले आफैले घर बनाउन थालेका हुन् ।
भूकम्पले घर ढल्यो, त्रिपाल हुदै अस्थायी टहरामा बस्दै आएकाहरु आफै घर बनाउन जुटेका हुन् । जाडो मौसममा टहरामा बालबालिकाहरु बिरामी पर्ने गरेका छन् ।
सरकारले घर निर्माण गर्नका लागि २ लाख रुपैया दिने भनिएको भएपनि आफुहरुलाई आश्वासन मात्रै दिएको स्थानीय शेरबहादुर गुरुङले बताए । अब सरकारको भर पर्नु भन्दा पनि आफ्नो गाँउ आफैले बनाउ भन्ने कुरालाई आत्मसाथ गर्दै गाँउलेहरु जुटेका हुन् । होमस्टेको रुपमा प्रवद्धन गर्न यहाँ प्राय घरहरु एउटै किसिमले बनाइने पनि गुरुङले बताए ।
भूकम्पले दिएको पीडा बोकेर सरकारको मुख नताकि घर बनाउन कस्सिएका उनीहरुमा सरकारले देला र बनाउला भन्ने आश मरेको बताउँछन् । दैनिक रुपमा गाँउका छिमेकि र परिवारका सदस्यहरु मिलि गाँउका सबैको घर निर्माण गरिने गुरुङले बताए ।
सदरमुकाम धादिङबेसीबाट ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने यस गाँउमा अहिले पनि त्रिपालमा नै भएपनि पाहुनाहरुलाई राख्ने गरेका छन् । घर बनाइरहेका छौँ तयार भइसकेपछि व्यवस्थित रुपमा राख्नेछौँ स्थानीय छक्कनी गुरङले बताइन् ।
सदरमुकामदेखि त्यस ठाँउसम्म बालुवा सिमेन्टी, रड लगायतका सामग्रीहरु लैजान कठिन भएको छ । त्यस्तै भूकम्पले पानीको मुहान सुकाएपछि घर बनाउनका लागि पानीको पनि समस्या परेको छ ।