Fri. Mar 14th, 2025

माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

२४ माघ, नुवाकोट– काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नंको माइक्रोवस शनिवार  पासाङल्हामु राजमार्गको मदानपुर–८ केउरिनीमा   दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।

क्षमताभन्दा बढी यात्रु सवार माइक्रोबस सडकदेखि २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी चालक बेलकोट–२ घर भएका २२ वर्षीय दामोदर कँडेलको सनाखत भएको छ ।

दुर्घटनास्थलमा त्रिशूली सैन्य तालिम केन्द्रमा तालिम लिइरहेका सैनिक रिक्रुट सन्तोष बोगटी, ईश्वर कार्की, यशोदा कार्की र रामेछापकी लक्ष्मी श्रेष्ठको परिचयपत्र फेला परेपछि उनीहरू मृतक हुन् या घाइते खुलिनसकेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताए ।

तेइसजना यात्रु बोकेर नुवाकोटको त्रिशूली आउँदै गरेको माइक्रोबसमा अधिकांश नेपाली सेनामा तालिमरत सिपाहीहरू रहेको बताइएको छ । शुक्रबार बिदामा आएर शनिबार फर्कने क्रममा उनीहरू दुर्घटनामा परेका हुन् । दुर्घटनामा छजना शैन्य तालिम केन्द्र त्रिशूलीमा तालिम लिँदै गरेका र बाँकी सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाको सैन्य तालिम केन्द्र मैथलीले पनि तालिमरत जवानहरू दुर्घटनामा परे पनि मृतकहरू को को हुन् भन्ने बारेमा भन्न नसकिने प्रतिक्रिया दिएको छ । तालिम केन्द्रका मेजर अर्जुन थापाले मृतक र घाइतेहरूको पहिचानका लागि प्रयास भइरहेको बताउँदै पूर्ण विवरण दिन नसकिने प्रतिक्रिया दिए ।

दुर्घटनास्थलमा आठजना र तीनजनाको काठमाडौँको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो । घाइतेहरू पाँचजनालाई हेलिकप्टरबाट राजधानीमा उपचार गर्न लगिएको छ । दशजना घाइतेलाई बसबाट राजधानी लगिएको छ । घाइतेहरूको ट्रमा सेन्टर र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: