१८ माघ, धादिङ – नेपाली काँग्रेसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन्।
नेपाली काँग्रेस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४ गाविसमध्ये गाउँ अधिवेशन सम्पन्न भएका आजसम्म प्राप्त नतिजाअनुसार कार्कीवाडा गाविसका सबैभन्दा कान्छा उमेरका २५ वर्षीय विष्नबहादुर भाम र श्रीनगर गाविसका ६५ वर्षीय नरबहादुर रावल बाजे उमेरका निर्विरोध सभापतिमा निर्वाचित भएका छन् भने जिल्लाभरिमा रोवा गाविसमा मात्र एक महिला सभापति ३९ वर्षीया नानी बुढा सर्वसम्मत चयन भएकी छन् ।
उमेर समूहका आधारमा हेर्दा २५–३० वर्षभित्रका तीनजना ३०–४० वर्षभित्रका चारजना, ४०–५० वर्षभित्रका नौजना, ५०–६० वर्षभित्रका पाँचजना र ६०–७० वर्षभित्रका तीनजना गाउँ सभापति निर्विरोध निर्वाचित भएका छन् भने ११ सदस्यीय गाउँ तथा वडा कार्यसमितिमा प्रायः २५ देखि ४५ वर्षभित्रका पदाधिकारीहरुको बाहुल्यता रहेको छ ।
यस आँकडालाई हेर्दा पनि गाउँ नेतृत्वमा सबै तह युवा, मध्य युवा र ज्येष्ठ नेतृत्वको प्रतिनिधित्व भएको छ । योभन्दा पनि अर्को रोचक कुरा सबै गाविसमा गाउँ, वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत अर्थात् निर्विरोध निर्वाचित भएका छन् जबकि देशभरको गाउँस्तरको अधिवेशनमा अधिक ठाउँमा निर्वाचन, झडप, पक्ष विपक्ष बुथ कब्जा र यहाँसम्मकी नेतृत्व आफ्नो गुटमा पार्न खुकुरी हानाहानसम्म भएका घटना बाहिर आएका छन् । तर मुगुमा शान्तिपुर्ण निर्वाचन सम्पन्न भएको सभापति शाहीले बताए।
मुगु जिल्लामा निर्वाचनका लागि खटिएका अधिवक्ता एवम् नेपाली काँग्रेस मुगु जिल्ला मुख्य निर्वाचन अधिकृत दमनराज बम मुगुका चौबीसै गाउँ कार्यसमिति, २१६ वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएकामा आफू अचम्मित परेको बताउँछन्। उनी भन्छन्हाँ– “मुगु जिल्लाले त अन्य ७४ जिल्लालाई पाठ सिकायो । चुनाव नभएका कुनै जिल्ला छैनन् तर मुगुमा सबै नेतृत्व निर्विरोध चयन भए ।
पूर्व शिक्षा राज्यमन्त्री एवम् श्रीनगर गाविसबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हस्तबहादुर मल्लले गाउँस्तरमा जस्तै जिल्ला नेतृत्वका लागि पनि सर्वसम्मत चयनको प्रयास हुने बताए। रासस