१४ माघ, खोटाङ – बाढीले पावरहाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावाखोला लघुजलविद्युत् आयोजना आठ महिनापछि पुनः सञ्चालनमा ल्याइएको छ । गत असार १९ गते आएको बाढीले बगाएको १७ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना बुधबारबाट पुनः सञ्चालनमा ल्याइएको हो ।
बाढीले क्षतिग्रस्त जलविद्युत् सञ्चालनमा ल्याउन कसैको सहयोग नपाएपछि चन्दा सङ्कलन र श्रमदान गरेर सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका सचिव लोकप्रसाद राईले जानकारी दिए । खिदिमा–४, ५, ६, ७ र ८ तथा छितापोखरी–९ र मात्तिम–९ का गरी २३३ घरधुरी उपभोक्ताले प्रयोग गर्दै आएको अवरुद्ध जलविद्युत् पुनः सञ्चालनमा आएपछि उपभोक्ता खुसी भएका छन् ।
रातको समयमा आएको बाढीले लघुजलविद्युत्को पावरहाउस, नहर लगायतका संरचनामा क्षति पुर्याएको थियो । विद्युत्गृह सञ्चालनमा ल्याउनका लागि श्रमदानबाहेक प्राविधिक खर्च एक लाख दुई हजार, ३० मिटर ढुङ्गा कटानका लागि दुई लाख २२ हजार गरी तीन लाख २४ हजार खर्च भएको समितिले जनाएको छ । विद्युत् सञ्चालनमा ल्याउन उपभोक्ताबाट प्रतिघर रु एक/एक हजारका दरले चन्दा उठाएको सचिव राईले जानकारी दिए । रासस