१४ माघ, धादिङ – धादिङका भूकम्प पीडितहरुले आवास निर्माणका लागि अनुदान स्वरुप सरकारले दिने २ लाख रुपैयाँ सरकारी स्वामित्वका विभिन्न वित्तिय संस्थाबाट पाउने भएका छन् ।
राष्ट्रिय बाणिज्य बैंक लगायत वित्तिय संस्थाहरु मार्फत रकम वितरण गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकले ढोला गाविस ५ साँदभञ्ज्याङमा गरेको शाखा रहित सेवा विस्तार कार्यक्रम बिएलबीको उद्घाटन गर्दै उनले घरदैलोमा सेवा दिनका लागि वित्तिय संस्थाहरुको सहयोग अपरिहार्य रहेको बताए । ग्रामिण क्षेत्रमा पनि वित्तिय पहुँच बढाउन भन्दै बैंकले आजदेखि धादिङमा साँदभञ्ज्याङबाट शाखा रहित सेवा विस्तार कार्य सुरु गरेको हो ।
किन्ताङफेदी, तिप्लिङ र बुढाथुममा पनि चैत महिनाभित्र सेवा विस्तार गरिने राष्ट्रिय बाणिज्य बैंक धादिङ शाखाका प्रवन्धक केशब बाबु घिमिरेले जानकारी दिए । शाखा रहित सेवा मार्फत बचत खाता खोल्न, नगद जम्मा गर्न, राष्ट्रिय बाणिज्य बैंकको कुनैैपनि खातामा रकम जम्मा गर्न, पेन्सन भुक्तानी, सामाजिक सुरक्षा भत्ता भुक्तानी लगायत सेवा प्रदान गरिने बैंकले जनाएको छ । यस्तै यसअघि कृषि कर्जाका लागि निलकण्ठ नगरपालिकामा मात्रै सेवा दिँदै आएको बैंकले चैनपुर गाविसलाई पनि भौगोलिक कार्यक्षेत्रमा समावेश गराउने भएको छ । कृषि क्षेत्रको विकास र विस्तारका लागि ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्न बैंक पछि नहट्ने राष्ट्रिय बाणिज्य बैंक काठमाडौंका क्षेत्रिय प्रमुख ससी आचार्यले जानकारी दिए ।