पछिल्लो समय नेपाल प्रहरी धादिङ, सुरक्षित धादिङ नारा लिएर सिङ्गो धादिङलाई नै सुरक्षित बनाऊने अभियानमा जुटेको छ । विशेषगरी महिला तथा बालबालिका माथि भइराखेका हिंसा न्युनिकरण गर्ने यो अभियानको मुख्य उद्देश्य हो । धादिङ जिल्लाको ५ गाऊँ विकास समिति (सल्यानकोट, मैदी, बेनिघाट, कुम्पुर र तसर्पु) लाई अभियानले मुख्य कार्य क्षेत्र बनाएको छ । यसै पेरिफेरीमा रहेर धादिङका प्र्रहरी नायव उपरिक्षक सविन प्रधानसंग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी ।
१) सुरक्षित धादिङ अभियान कार्यक्रम संचालन गर्नुको मुख्य उद्देश्य के हो ?
शान्ति सुरक्षाको दृष्टिकोणमा हेर्ने हो भने हामी प्रहरी देश र जनताको माझमा राज्यको प्रतिनिधित्व गर्दै उपस्थिति जनाएका हुन्छौँ । त्यहि उपस्थिति मार्फत हामीले देश र जनताको सुरक्षा गर्ने र घटित अपराधहरुको अनुसन्धान गर्ने काम गरिरहेका हुन्छौँ । यस भन्दा अगाडी हामीले पक्राऊ गर्ने, थुन्ने, घटना माथिको अनुसन्धान गर्ने र अपराधीलाई कानुनी दायरामा ल्याउने काम गर्दै आएका थियौँ भने अहिले अलि भिन्न तरिकाले उपस्थित भएका छौँ । यसको मतलब यो हैन की हामीले पुराना कामलाई छाड्छौँ । हाम्रो सार भनेको देशमा अमनचयन कायम गर्नको लागि अपराधिक प्रवृतिका मानिसहरुको पहिचान गर्ने, तिनीहरुको खोजी गर्ने, उनिहरुलाई पक्राऊ गर्ने र अन्यायमा परेकाहरुलाई न्याय दिलाऊनका लागि सहयोग गर्ने नै हो । तर यो काम गर्दा पनि यस्लाई कसरी व्यवस्थित रुपमा संचालन गर्ने, कसरी योजनावद्ध रुपमा अगाडी बढाऊने भन्ने विषयमै यो सुरक्षित धादिङ भन्ने अभियान जन्मिएको हो ।
२) यो अभियानलाई कसरी अगाडी बढाऊनुहुन्छ ?
सुरक्षित धादिङ अभियान अन्तर्गत हामीले ५ कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका छौँ । सर्वप्रथम त सुरक्षा पहरा कार्यक्रम रहेको छ । जसमा हामीले जनतालाई सुरक्षाको प्रत्याभुती, सुरक्षाको आभास अर्थात जनतालाई तपाईहरुको सुरक्षाका लागि हामि तपाईसंगै छौँ है भन्ने महसुस दिलाऊनका लागि प्रहरीलाई सकेसम्म प्रत्येक नागरिकसंग भेटघाट गराउने गरेका छौँ । पहिले पहिले हामी कहिँ कतैै घटना घट्यो भने घटना स्थलमा पुग्ने, अपराधी समातेर ल्याउने गथ्र्यौ भने अब त्यो हैन । हामी प्रत्येक नागरिक संग भेटघाट, अन्तरक्रिया र उहाँहरुका सल्लाह, सुझाव र प्रतिक्रियाका संगै अगाडी बढ्छौँ । डर त्रास र भय रहित समाज निर्माण गर्नका लागि हामी सदैव तत्पर छौँ । त्यसका लागि हामि प्रहरी गस्ती पनि खटाउंछौँ । हिजो प्रहरी पुग्न नसकेको ठाऊँमा पनि अब गस्तीका माध्यमबाट प्रहरी परिचालन गरेर हामी गाऊँ गाऊँ सम्म पुग्छौँ । दुई दिनमा तथा तिन दिनमा एक समुदायले प्रहरी टोली संग अन्तरक्रिया गर्न पाऊँछन् । त्यस्तै हाम्रो अर्कोे कार्यक्रममा अपराध रोकौँ भन्ने रहेको छ । जसमा हामीले जुन अपराध हाम्रो धादिङ जिल्ला अन्तर्गत भइरहेका छन्, त्यसलाई प्राथमिकतामा राखेर हामीले कसरी संबोधन गर्न सकिन्छ भनेर हामी अनुसन्धान गर्छौं । धादिङमा लैङ्गिक हिंसा बढिरहेको छ त्यसलाई कम गर्नको लागि, रोक्नको लागि हामीले सल्याकोट, मैदी, बेनिघाट, कुम्पुर र तसर्पु गरी ५ गाविस छनोट गरेका छौँ र सबैसंग सहकार्य गरि अगाडी बढ्न पनि थालीसकेका छौँ. । यि गाविसहरु निरन्तर रुपमा हाम्रो नजरमा हुनेछन् र हिंसा न्युनिकरणमा हामी सक्दो प्रयास गर्नेर्छौं । र हिंसा रहित गाविसको रुपमा ति गाविसलाई स्थापित गर्नमा हामी लागि पर्नेछौँ । त्यस्तै जनता संगको हातेमालो, युवाशक्ति परिचालन अन्तमा सुरक्षित राजमार्ग भन्ने ५ कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेर हामी अगाडी बढ्छौँ ।
३) जिल्ला प्रहरी कार्यालय र सरोकारवाला संघसंस्थाले पनि लैङ्गिक हिंसाको दृष्टिकोणबाट जोखिम मानेका ५ गाविसलाइ विशेष प्राथमिकतामा राखेर काम गर्दै हुनुहन्छ, के कस्ता कार्यक्रम गरिराख्नुभएको छ ति गाविसमा ?
ति समुदाय भित्रका वर्गलाई सम्बोधन हुने गरि हामी कार्यक्रम गर्दैछौँ । जस अन्तर्गत हामीले विद्यार्थीहरुलाई एक ठाऊँमा भेला गराई अन्तरक्रिया कार्यक्रम गर्र्दै आएका छौँ । जहाँ हामी विद्यार्थीहरुलाई बालविवाह गर्दा हुने हानी नोक्सानी र बच्ने उपायका बारेमा जानकारी गराऊँदछौँ । अहिले हामी सबैको अध्ययनले तिनै साना साना बालबालिका हिंसाको उच्च जोखिममा परेका छन् भन्ने देखाएको छ, त्यसैले पनि वालवालिका स्वयम्लाई जनचेतनामुलक कार्यक्रम मार्फत जानकारी दिंदा बालबालिका पनि सचेत हुन् र उनिहरुले आफ्नो घर परिवारमा पनि गएर त्यो पाठ सिकाऊन सकुन् भन्ने हाम्रो अपेक्षा रहेको छ । हामीले वालदुव्र्यवाह र लैङ्गिक हिंसा सम्बन्धी उनिहरुलाई अनुशिक्षण गराएका छौँ । त्यस्तै कार्यक्रमलाई प्रभावकारी बनाऊनका लागि विभिन्न साँस्कृतिक कार्यक्रम, नाटक, गित लगायतका विभिन्न कार्यक्रम समुदाय स्तरमा पुर्याई कसरी कुन वर्गलाई आकर्षित गर्न सकिन्छ र हाम्रो सन्देश सहि तरिकाले सबैतिर पुर्याऊन सक्छ भन्ने कुरामा पनि हामी विशेष सतर्क छौँ । यि गाविसहरुलाई प्राथमिकतामा राखेका छौँ भन्दैमा हाम्रो ध्यान अन्त छैन भन्ने भने पक्कै पनि होइन । हामी त जिल्लालाई नै हिंसामुक्त जिल्ला बनाऊन चाहन्छौँ । सुरुवाती चरणमा मात्रै यी ५ गाविसलाई छानेका हौँ । यि गाविसलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्ने र त्यहाँ भएका उदाहरणिय र उपलब्धीमुलक कार्यक्रमलाई क्रमश अन्य गाविसमा पनि लैजाने भनेर हामी अगाडी बढेका छौँ । हाम्रो अन्तिम उद्येश्य भनेको त जिल्लालाई नै हिंसामुक्त जिल्ला बनाऊने हो । सुरुका चरणहरुमा त केहि चुनौती हुन सक्छन् किनभने जती चेतनामुलक कार्यक्रम गाऊँ पुग्यो त्यतीनै हिंसा सम्बन्धी रिपोर्टिङहरु बाहिर आउंछन् ।
४) काम गर्दै आऊँदाका सिकाईहरु कस्ता छन् ?
जुन विद्यार्थीहरुको हामी संगको अन्तरक्रिया थियो र उनिहरुको बुझाईको स्तर थियो, त्यसले हामीलाइ यति धेरै हौसला थपेको छ । मलाई यस अर्थमा खुशी लागेको छ की उहाँहरुले आफ्नो घरभित्रको कुरा, समाजको कुरा संगै विद्यालय भित्रको कुरा पनि उहाँहरुले खुलेर राख्नुभयो । बुझेका कुरा पनि राख्नुभयो, दुविधा भएका कुरा पनि राख्नुभयो । त्यस्ता समस्या समाधान गर्नको लागी हामी थप जिम्वेवार बन्नुपर्ने महसुस गरेको छ । घटना घटिसकेको छ भने त्यसलाई कसरी सम्बोधन गर्ने, घटेको छैन तर संभावना छ भने के गर्ने भन्नेमा हामी लागि परेका छौँ ।
५) जिल्ला प्रहरी कार्यलय धादिङसंग जे जती मानव संसाधन तथा अन्य स्रोत साधन छन्, कार्यक्रमलाई प्रभावकारी बनाऊन ती स्रोत साधन प्रयाप्त छन् ?
जति सुकै सम्पन्न मुलुकमा पनि स्रोत साधन त सधैं अभाव नै हुन्छ । हामी संग स्रोत साधन छैन भनेर हामीले काम नगर्ने भन्ने हुँदैन । सिमित स्रात साधनकने बढि भन्दा बढि प्रयोग गरेर हामी अगाडी बढिरहेका छौँ । स्रोत साधनको व्यवस्थित र अधिकतम परिचालन गर्ने पक्षमा हामी सधैं लागीरहेका हुनेछौं । अर्को तिर हाम्रो जिल्लामा प्रहरी मात्रै यसमा संवेदनशिल छैन । नागरिक समाज, यहाँ रहेको निकाय पनि त्यत्तिकै संवेदनशिल छन् । मैले देखेको त तपाई पत्रकार वर्गहरु पनि यसमा त्यत्तिकै संवेदनशिल भएर लागि पर्नुभएको छ, हामीलाई घचेटीरहनुभएको छ । मैले राजनीतिक दलका साथीहरु संग कुरा गर्दा पनि उहाँहरुले यस्लाई निकै सकरात्मक रुपमा लिएर सहयोग गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएको छ । यसको मतलब यो हाम्रो मात्रै काम होइन यो हामी सबैको साझा काम हो । हामीले यो अभियानलाई साझा रुपमा महसुस गरिसकेपछि यो सफल नहुने भन्ने त कुरै आऊँदैन ।
६) तपाईंहरुलाई अहिले एऊटा आरोप पनि छ नी, शान्ती सुरक्षाको पाटोलाई एकातिर छाडेर गैर सरकारी संस्थाहरुले जस्तो परियोजना संचालन गर्न थाल्यो प्रहरीले भन्ने ?
एकदमै हो, तर हामी प्रहरीलाई अरुले महिलावादी नै भयौ भने पनि हामीलाई कुनै आपत्ती हुंदैन । जब अन्तराष्ट्रिय कानुन, त्यसपछि अनि राज्यका कानुनहरुले महिलाका लागि विशेष खालका कानुन बनाएर अगाडी बढेका छन्, हामीले त्यसको लागु त जुनसुकै हालतमा पनि गराउनुपर्छ । महिला मात्रै होइन बालबालिका, जेष्ठ नागरिक, भिन्दै क्षमता भएका तथा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणमा राज्यले विशेष कानुन बनाकै हुन्छ, यो हरेक मुलुकमा हुन्छ र नेपालमा पनि छ । त्यस्ता किसिमका विशेष कानुनको अवलम्बन गर्दै हामीले विशेष खालका उपचारका विधी अवलम्बन गर्नुपर्ने हुन्छ । ति उपचारका विधि हामीले पपनि अपनाउने क्रममा यदि कसैलाइ पनि अन्यथा महसुस हुन्छ भने त्यो बुझाई कम भाको कारणले हो । हाम्रो कामलाई म ३ वटा नजरमा विश्लेषण गर्छु । एक त पुर्व जानकारीको पाटो, अर्को भनेको संरक्षण अनि अनुसन्धानको माध्यमबाट अपराधीलाई कानुनी दायरामा ल्याऊने । यो ३ वटा कुरालाई हामीले संगसंगै लैजान सकेनौं भने वास्तवमा हामीले घटनालाई रोक्न सक्दैनौं ।
७) अन्तमा,
सुरक्षित धादिङ भनेको हामी सबैको साझा अभियान हो । यसमा शिक्षक, विद्यार्थी, अभिभावक, परिवार, समाज, नागरिक अगुवाहरु, राजनितिक दल, विभिन्न संघसंस्था, तपाईं पत्रकार वर्ग सबैको साझा भुमिका हुन्छ । सबैले यो हाम्रै काम हो भनेर लागेम भने पक्कै पनि हामीले परिकल्पना गरे जस्तो सुरक्षित धादिङ अवश्य बन्नेछ ।