८ माघ धादिङ -१२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि फागुन पहिलो साताबाट जग्गा अधिग्रहणको काम सुरु हुने भएको छ ।
अबको तीन हप्ताभित्र धादिङ र गोरखा दुबै जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाहरुको लगत संकलनको काम सकेर फागुनदेखि क्षतिपूर्ति योजना मुआब्जा वितरणको प्रकृया अगाडि बढाउन लागेको हो ।
बुढिगण्डकी प्रभावित क्षेत्रमा पर्ने धादिङको खरी स्थित बुङ्कोटघाटमा शुक्रबार आयोजित बुढिगण्डकी जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन सम्बन्धी सार्वजनिक सुनुवाइमा उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले आयोजनाको काम द्रुत गतिमा अघि बढेको दावी गरे । हाल दुबै जिल्लाका विस्थापित र प्रभावितहरुको कित्ता गणना भइरहेको मन्त्री रायमाझीले जानकारी दिए ।
धादिङ र गोरखाका २७ गाविस चम्किए पुरै देश चम्किने भन्दै रायमाझीले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न हुनेमा विश्वस्त रहन प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेका छन् ।
आयोजनाको विस्तृत इन्जिनियरिङ खाका र टेन्डर डकुमेन्ट तयार भइसकेकोले योजना स्वीकृत भएर सरकारले बजेट छेट्याउने वित्तिकै निर्माणको काम अघि बढ्ने आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी प्रभावित क्षेत्रका वासिन्दाहरुले भुकम्पको पीडा माथी बुढिगण्डकी आयोजनाले थप पीडा थपिदिएको बताएका छन् । डुवान क्षेत्रका जनताको हालको भन्दा राम्रो जीवन स्तर हुन्छ भनेर प्रचार प्रसार गरिएपनि जीवनस्तर उकासिने आधारहरु प्रष्ट नदेखिएको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुले चिन्ता व्यक्त गरेका छन् । सरकारको काम गर्ने शैलीले आयोजना बन्छ या बन्दैन भन्नेमा आफुहरु अझै विश्वस्त हुन नपाएको स्थानीयहरुले बताएका छन् ।
आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनबारे जानकारी गराउनुहुँदै वातावरणविद् डाक्टर तोरण शर्माले प्राविधिक र वातावरणीय जोखिम भन्दा राजनीति खोजिम बढि देखिएको बताए ।