सरिता श्रेष्ठ / ६ माघ, धादिङ – वैदेशिक रोजगारीका लागि अफगानिस्तान गएका उत्तरी धादिङको दार्खा गाँउ विकास समिति वडा नं ६ का सुकबहादुर सुनार बेपत्ता भएका छन् । गत फागुन २२ गते भारतको बाटो हँुदै गएका सुनार पुस १० गतेदेखि बेपत्ता छन् । कमाइ राम्रो नभएकाले घर फर्कने कुरा गरेका सुनार अहिले परिवारको सम्पर्कमा आएका छैनन् । धादिङकै दलाल काल बहादुर खातीलाई ४ लाख ५० हजार बुझाएर राम्रो कमाइ हुने आशामा काम गर्नको लागि विदेश गएका थिए । तर त्यहाँ लामो समय बस्दा पनि काम नपाएको र थुपै यातना पाएपछि घर फकिन्छु भनेर फोन गरेका श्रीमान आजसम्म सम्पर्कमा आएका छैनन् ।
सुकबहादुरकी श्रीमती प्रमिलाले भनिन, ‘फागुनको २२ गते भारत हुँदै गएका श्रीमान चैत महिनामा अफगानिस्तानमा पुगेपछि फोनमा कुरा भएको थियो । फोनमा काम पाइएको छैन, अब विस्तारै काम पाइन्छ होला भनेर भन्नुहुन्थो अरु कुरा केही भएन तर एक्कासी म घर फर्किदैछु भनेर फोन गरेको मान्छे बेपत्ता हुनुभयो ।’ ‘आजसम्म साह्रै आपतसंग बसे, उनीहरुले मागेको पैसा पनि दिएको छु, अहिले मलाइ २ जना साथीहरुले पाकिस्तानको बोर्डरसम्म पु¥याइदिन्छु भनेका छन् । पाकिस्तान प्रवेश गरेपछि त्यहीको सिम किन्न पाए भने फोन गर्छु पाइन भने भारत पुगेपछि मात्रै फोन गर्छु है ।’ श्रीमानले यसो भनेका थिए तर अहिलेसम्म पनि अत्तोपत्तो छैन ।
यहाँवाट काल बहादुर खातीलाइ पैसा बुझाएर भारतिय एजेन्ट गोरखा हरमटारीकी शान्ता थापासंग भारतमा सम्पर्क भएपछि उनी अफगानिस्तान उडेका थिए । त्यहाँ पुगेपछि काममा लगाइदिने भन्दै त्यहीको दलालले पैसा माग्ने गरेको कुरा श्रीमानले बताएको श्रीमती प्रतिलाले बताइन् । ‘यहाँ कामको टुङगो लागेको थिएन, उहाँ गएपछि नै पासपोर्टमा भिषा हानेर काम गर्न पाइन्छ भनेर काल बहादुरले भनेको कुरामा विश्वास गरियो । चिनेको मान्छे यसरी फसाउँछन होला भनेर विश्वासै लागेन, उहाँ पुगेपछि त काममा लगाइदिनको लागि त्यहाँको दलालले फेरी पैसा माग्न थालेछ ।’ निकै निराश हुँदै प्रमिलाले भनिन्, ‘अब नजानु गइसकियो, काम पाइन्छ भनेका छन पैसा पठाइदेउ भनेर श्रीमानले पनि भन्नुभयो पटक पटक गरि ३ लाख ७० हजार फेरी पठाइयो तर काम पाइएन उहाँ पनि फिर्ता हुनुभएन ।’
नेपाल आर्मीमा जागिर खाएका सुकबहादुरले जागिरको पैसा बचाएर सदरमुकाममा एउटा २ तले पक्की घर पनि बनाएका थिए । आर्मीको जागिर पेन्सन भएपछि घर बनाउँदा लागेको ऋण तिर्न भनेर विदेशीएका श्रीमान नफर्केपछि उनको परिवारको विचल्ली भएको छ । सुकबहादुरका ससुरा भक्त बहादुर सुनारले भने, ‘उहाँपुगेपछि निकै दुःख पाएको भनेर फोन गर्नुहुन्थ्यो, म अव नेपाल नै फर्कन्छु फर्कनको लागि पनि पैसा चाहिन्छ भनेका छन भनेर ज्वाइले भन्नुभयो, ज्यान रहे त सम्पती कमाउला नी त भनेर सदरमुकाममको घर पनि बेचेर ज्वाइलाइ नेपाल झिकाउन पैसा पठाइयो तर ज्वाइ पनि हराउनुभो पैसा पनि गयो ।’
उनीसंगै गएका अन्य जिल्लाका १५ जना साथीहरु पनि कोही त्यहावाट भागेको र कोही घरबाटै पैसा झिकाएर फर्किएकाले सुकबहादुरले पनि घर फर्किनको लागि पैसा मगाएको प्रमीलाले बताइन । सुक बहादुर अफगानिस्तान पुगेपछि भिसा लगाउन भनेर पासपोर्ट पनि जफत गरेकोले गाडीको बाटो भएर आउँदा कागजपत्र नभएपछि अफगानिस्तान या पाकिस्तानमा पक्राउन परेको हुनसक्ने भन्दै परिवारले उनको खोजी गरिदिन आग्रह गरेका छन ।
सुकबहादुरका सुसुरा भक्त बहादुरले भने, ‘पुस ९ गते ज्वाइकै नाममा उनलाइ नेपाल फिर्ता आउनको लागि भनेर १ लाख पठाइयो, १० गते मैले पैसा पनि पाए, मेरो पासपोर्ट दलालले फिर्ता दिएनन, मलाइ यहीका २ जना साथीले बोर्डर सम्म पु¥याउन सहयोग गर्छु भनेका छन म अव हिडे भारत पुगेपछि मात्रै फोन गर्छु भनेर हिडेका ज्वाइ आजसम्म सम्पर्कमा आएनन् ।’
सुकबहादुर बेपत्ता भएको विषयमा सुरक्षित आप्रवासन परियोजनाले पनि खोजी थालेको छ । परियोजनाकी संयोजक गंगा सुवेदीले भनिन, ‘सुकबहादुरको बारेमा खोजी गरिदिन पाकिस्तान र अफगानिस्तान हेर्ने नेपाली दुतावासमा खवर पनि पठाइएका छौँ ।’