धादिङ- नेपालका अधिकांश मठ मन्दिरमा पुगेर भक्तजनहरुले साक्षात रुपमा देवी/देवताको पूजाआजा र दर्शन गर्न पाउँछन् । तर धादिङ्गको सल्यानकोट गाविसमा रहेको त्रिपुरासुन्दरी भवगतीको मन्दिरमा पुग्ने भक्तजनहरुले भने भगवतीको मूर्ति छुन त परै जाओस फोटो समेत देख्न पाउँदैनन् ।
कुनैपनि देवी देवताको अस्तित्व आफैंमा रहस्यमय हुन्छ । सल्यानकोटकमा रहेको त्रिपुरासुन्दरी भगवतीको मूर्ति कस्तो छ भनेर भक्तजनहरुले हेर्न पाउँदैनन् । तर त्यही पुजा गर्ने पुजारीले भने पुजाको दिन लुकाएर भगवतीलाई बोकेर भगवतीकै विभिन्न मन्दिरमा पु¥याउँछन् ।
यसरी बोकिएकी भगवतीलाई रानामगर थरका स्थानीय पुजारी, सापकोटा र तिमल्सिना बाहेक अरु कसैले हेर्न, छुन पाउँदैनन् । मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले भगवतीको स्वरुपको बारेमा कसैलाई जानकारी गराउँदिन भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ । र यी तीन थरीबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुख्यढोका बाटै भगवतीलाई पुजा–आजा गर्नुपर्ने नियम छ ।
विवाहित नेपाली नारीले धेरैजसो समय आफनो कर्मघरमा विताउनुपर्ने, दशैं तिहार जस्ता चाडबाडमा मामाघर जानुपर्ने र हिँउदमा फुर्सद मिल्ने भएकोले केही बढी समय माइतीमा बस्न पाउने चलनसँग भगवतीको विभिन्न मन्दिरको बसाईलाई तुलना गरिएको छ । सोही अनुसार सल्यानकोट गाविसको वडा नम्बर ५ मा रहेको २ वटा मन्दिर मध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ ।
मंसीरदेखि चैत्रसम्म भगवतीलाई आगिञ्चोक गाविस स्थित बेसीको मन्दिरमा राखिन्छ । जुन भगवतीको माइतीको रुपमा प्रचलित छ । सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिन्छ । मंसीर महिनाको विशेष तिथिमा भगवतीलाई गाउँको मन्दिरबाट बेसीको मन्दिरमा पु¥याइन्छ । खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरोबाटो हुँदै बाटोमा भगवतीलाई बेसीको मन्दिरमा ल्याइन्छ ।
नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाहले गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा यही मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ ।
भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टिकाको दिन हेर्ने र तिहारको भाईटिकाको दिन त्यसलाई सार्वज्निक गर्ने चलन छ । भगवतीलाई बेसीको मन्दिरमा लैजाने अघिल्लोदिन र रातभर गाउँको मन्दिरमा मेला लाग्ने गर्दछ भने भगवतीलाई बेसीको मन्दिरमा पु¥याइसकेपछि भोलिपल्ट दिनभर बेसीको मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । त्रिपुरासुन्दरी भगवतीसँग सांस्कृतीक र धार्मिक मात्रै होइन प्राकृतिक महत्वसमेत जोडिएको छ ।
राजधानी काठमाण्डौंबाट सडकमार्ग हुँदै झण्डै ५ घण्टामै पुगिने भएपनि त्यो मन्दिर र यहाँको रोचक प्रचलनको बारेमा उचित प्रचार प्रसार हुन सकेको छैन । मनास्लु, माछापुछ्रे्र र गशेणलगायतका मनोरम हिम सृङ्खलाको अवलोकन गर्न सकिने यो मन्दिर राजधानीबाट नजिकै भएपनि बत्तिमुनिको अँधेरो जस्तो बनेको छ ।
पर्यटकीय महत्व समेत बोकेको त्रिपुरासुन्दरीको जात्रालाई उचित प्रचार प्रसार गर्न सम्बन्धीत सबै पक्षले ध्यान दिनु आवश्यक छ ।