४ माघ, इलाम – रेडपाण्ड (हाब्रे) को अवैध चोरी तस्करी रोक्न जडान गरिएका ट्रापिङ क्यामेराका कारण रेडपाण्डाको चोरी निकासी हुने क्रम घटेको छ । सिकारीले पासो थाप्ने र सिकार खेल्ने स्थानको पहिचान गरी उक्त क्षेत्रमा विशेष किसिमका क्यामेरा जडान गरेपछि चोरी निकासी कम हुन थालेको हो ।
‘क्यामेरा जडान गरेपछि रेडपाण्डा चोरी, तस्करी हुने क्रम ९० प्रतिशत नै कम भएको छ’, रेडपाण्डा नेटवर्क नेपालका इलाम प्रतिनिधि फिञ्जु शेर्पाले भने(‘ट्रापिङ क्यामेराको मुख्य उद्देश्य नै चोरी तस्करी नियन्त्रण गर्ने हो ।’ क्यामेरा, वन हेरालु नहुँदा उत्तरी क्षेत्रका सामुदायिक वनबाट रेडपाण्डाको तस्करी हुने गरेको थियो ।
सामुदायिक तथा राष्ट्रिय वनमा रेडपाण्डालाई पासो राखेको भेटिएपछि एक वर्षअघिबाट वनमा क्यामेरा जडान गरिएको छ । रेडपाण्डाको वासस्थानमा नै पासो राखेको भेटेपछि शङ्कास्पद स्थानमा क्यामेरा जडान गरिएको हो ।
इलामका मावुसहित जोगमाई, प्याङ, जमुना, माईमझुवा र माईपोखरी संरक्षणको काम भइरहेको छ । ती गाविसमा पनि क्यामेरा जडान गरिने शेर्पाले बताए ।
रेडपाण्डा नेटवर्ककै सहयोगमा पाँचथरमा दीपज्योति युवा क्लब र ताप्लेजुङमा हिमाली संरक्षण मञ्चले क्यामेरा जडान गरिरहेको छ । मेचीका तीन जिल्लामा करिब २१५ को हाराहारीमा रेडपाण्डा रहेको अनुमान गरिएको छ । रासस