३ माघ, काठमाडौँ – सिरियामा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि एक सय ३५ जनाको ज्यान गएको छ । सिरियाको उत्तरी क्षेत्र दिर अल जोर क्षेत्रमा आइसले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक तथा सरकारी सैनिकको ज्यान गएको हो ।
ज्यान जानेमा ८५ जना सर्वसाधारण नागरिक तथा ५० जना सिरियालनी सैनिक रहेको बेलायती मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
तर सिरियाको सरकारी समाचार संस्था सानाले भने दिर अल जोर शहरको बागलियामा आइएसको आक्रमणमा परि कम्तिमा तीन सय जना नागरिकको ज्यान गएको उल्लेख गरेको छ ।
यसैबिच संयुक्त राष्ट्रसंघले दिल अल जोरको अवस्था लगातार बिग्रँदो रहेको भन्दै चेतावनी दिएको छ । त्यस क्षेत्रमा झण्डै दुई लाख नागरिकको बसोबास छ । त्यहाँका महिला तथा बालकालिकाको अवस्था अति नै नाजुक रहेको भन्दै राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयले चिन्ता व्यक्त गरेको छ ।
सरकारी सेनाको नियन्त्रणमा रहेको दिर अल जोरमा आइएसले शनिबार बेलुकादेखि आक्रमण सुरु गरेको हो । आइएसका कार्यकर्ताले कार बम बिस्फोट गएराका छन् भने सरकारी सेनाले हवाई आक्रमण गरिरहेको स्थानीय बासिन्दाले बताएका छन् ।
आइएसले शहरको ६० प्रतिशत भाग कब्जा गरेको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा गएको पाँच वर्षदेखि जारी द्वन्द्वको क्रममा अहिलेसम्म दुई लाख ५० हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।
– एजेन्सीको सहयोगमा