पुस ३० – बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको प्रि क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २–० ले हराएको बार्सिलोना समग्रमा ६–१ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । पुस २३ गते भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले विजयी भएको थियो । दोस्रो लेगमा बार्सिलोनालाई जिताउन दुवै गोल मुनिर एल हादादीले गरे । हादादीले ३२ औं मिनेटमा पहिलो तथा ८८ औं मिनेटमा दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाएका हुन् । हादादी पहिलो लेगमा स्पानियोलका खेलाडीसँग झगडा गरेपछि दुई खेलको प्रतिबन्धमा परेका लुइस स्वारेजको ठाउँमा खेलेका हुन् । स्पेनका हादादीले बार्सिलोनाका लागि अहिलेसम्म पाँच गोल गरेका छन् ।
दोस्रो लेगमा मेस्सी खेले पनि नेइमार, आन्द्रे इनिएस्ता, जेराड पिके र सर्जियो बसक्वेसले भने खेलेका थिएनन् । यस्तै बुधबार राति नै भएको दोस्रो लेगमा भिल्लारियललाई १–० ले हराएको एथ्लेटिको बिल्बाओले पनि समग्रमा ४–२ को जित निकाल्दै अन्तिम ८ मा स्थान बनाएको छ ।
एको वर्ष बिल्बाओ फाइनलमा बार्सिलोनासँग पराजित भएको थियो । यस्तै काडीजलाई समग्रमा ५–० ले हराएको सेल्टा डी भिगो र एइबरलाई समग्रमा ६–४ ले हराएको लास पालमस पनि अन्तिम ८ मा पुगेका छन् ।