२९ पुस, काठमाण्डौं -कांग्रेस पदाधिकारीको सोमबार बसेको बैठकले रौतहट, कैलाली, सोलुखुम्बुको नयाँ क्रियाशील सदस्यता १३औँ महाधिवेशनका लागि खारेज गरे पनि केन्द्रीय कार्यालय सानेपामा अझै तीन जिल्लाका समूह अनशन बसेका छन् । पदाधिकारी बैठकको निर्णयका आधारमा सदस्यता खारेज गरिएपछि देउवा पक्षका जिल्ला सभापतिहरूले अनशन जारी राखेका हुन् ।
समान व्यवहार गर्न आवश्यक भएको भन्दै सोमबार पदाधिकारी बैठकले सोलुखुम्बु जिल्लाका सबै गाविसमा १२औँ महाधिवेशनका क्रियाशील सदस्यहरूको नवीकरण दस्तुर केन्द्रमा बुझाउनेलाई तेह्रौँ महाधिवेशनमा भाग लिन पाउने र नयाँ क्रियाशीलतर्फका सबै नामावली तेह्रौँ महाधिवेशनका लागि स्थगन गर्नेे निर्णय गरेको थियो । सो निर्णयपछि बलबहादुर केसीसहितको समूहले अनशन टुंग्याएको छ । तर, सभापति आङगेलु शेर्पा समूहको अनशन जारी छ ।
त्यस्तै, कैलाली जिल्लामा सबै नयाँ क्रियाशील सदस्यता तेह्रौँ महाधिवेशनसम्मका लागि स्थगन गरी नवीकरण सूची मात्र लागू हुने निर्णय पदाधिकारी बैठकले गरेपछि एक समूहले अनशन टुंग्याए पनि अर्को समूहले जारी राखेको छ ।
रौतहटको १, २, ३ र ४ नम्बर क्षेत्रका पुराना क्रियाशील सदस्यको तेह्रौँ महाधिवेशनका लागि नवीकरण सूची मात्र लागू हुने, तर नयाँलाई भाग लिन नदिने निर्णय गरेको थियो । यो जिल्लामा दुई क्षेत्रका नयाँलाई भाग लिन दिइएको छ । तर, अर्को समूहले अझै अनशन जारी राखेको छ । विधि र प्रक्रिया पुगेको भन्दै यस्तो सदस्यतालाई महाविधेशनमा भाग लिन दिन पाउनुपर्ने उनीहरूको माग छ ।