२८ पुस, धादिङ – गत बैशाखमा गएको विनाशकारी भूकम्पले धादिङका ५० वटा गुम्बा भत्किएको छ । भूकम्पले धेरैजसो उत्तरी धादिङमा रहेका गुम्बाहरु भत्किएको छ ।
भूकम्पले ३८ जिल्लाका ९ सय १५ वटा गुम्बा भत्काएको छ । भत्किएका गुम्बाको पुनर्निर्माण गर्न सरकारसँग ८ अर्ब १३ करोड रुपैयाँ माग गरिएको बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका उपसचिव मणिराज गुरुङले बताए ।
उपसचिव गुरुङका अनुसार देशभरका ६५ जिल्लामा २२ सय ६६ वटा गुम्बा समितिमा दर्ता भएका छन् । सबैभन्दा बढी गुम्वा सिन्धुपाल्चोकमा छन् । त्यहाँ २ सय १५ वटा गुम्बा छन् । तीमध्ये भूकम्पले १ सय २९ वटा गुम्बामा भूकम्पबाट क्षति पुगेको छ ।
भूकम्पले सिन्धुपाल्चोकका १ सय २९ वटा, दोलखाका ९९ वटा, सोलुखुम्बुका, नुवाकोट र मकवानपुरका ८८ वटा गुम्बाको पुननिर्माण गर्न माग भएको छ । त्यसैगरी, गोर्खाका ८२ वटा, सिन्धुलीका ५४ वटा, काभ्रेका ५३ वटा र रामेछापका ४७ वटा गुम्बाको पुननिर्माणका लागि आवेदन परेको छ ।
त्यस्तै, रसुवाका ३६ वटा, चितवनका १२ वटा, काठमाडौंका ११ वटा, खोटाङका १० वटा, तनहुँका १० वटा, भोजपुरका ७ वटा, हुम्ला र डोल्पाका ५ वटा गुम्बालाई भुकम्पले क्षतिग्रस्त बनाएको छ । त्यसैगरी ललितपुर, संखुवासभा, मनाङ, मुस्ताङका ४ र ४ वटा, मोरङमा ३ वटा, भक्तपुर, धनकुटा, तेह्रथुम र सुर्खेतका २ र २ वटा गुम्बा भत्किएका छन् । त्यस्तै, उदयपुर, महोत्तरी, धनुषा, रौतहट, बारा नवलपरासी, बागलुङ, रुपन्देही, कास्की र बाजुराका १ र १ वटा गुम्बालाई भुकम्पले भत्काएको छ ।
भूकम्पले भत्काएका गुम्बाहरु सार्वजनिक सम्पत्ति मात्रै नभएर पर्यटकीय महत्व बोकेका बहुमूल्य सम्पत्ति भएकाले यसको पुनर्निर्माणमा सरकारले विषेश प्राथमिकता दिनुपर्ने बुद्ध धर्मावलम्बीहरुको जोड छ ।