Tue. Mar 4th, 2025

सफल नेतृत्वको शुभकामना

माधब गुरुङ –

Madhav gurungयस हप्ता धादिङ जिल्लामा व्यावसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघको निर्वाचनले व्यावसायीहरुलाई अलिक चटारो बनायो ।हाल संस्थापन भनिएको उद्योग वाणिज्य संघले सबै खालका विचारधारा बोकेका व्यावसायीहरुको प्रतिनिधित्व नगरेको भन्दै केही समय अघि धादिङ जिल्ला भित्रका व्यावसायीहरु बिचका् फुट टड्कारो रुपमा देखिएको पनि थियो ।पछि व्यावसायीहरुका बिचमा समझदारी जस्तो बनेको देखिए पनि सबै विचार धारा बोकेका व्यावसायीहरु अझै पनि धादिङको उद्योग वाणिज्य संघमा नअटाएको कुरा भने घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । यद्यपि आजको आलेखमा सबै विचारधारा बोकेका व्यावसायीहरु उद्योग वाणिज्य संघ धादिङमा अटाएका छन् की छैनन् भन्ने भन्दा पनि उद्योग वाणिज्य संघ भित्र व्यावसायिक राजनिति भयो की भएन भन्ने सवाल उठाउन खोजिएको हो ।

आलेख तयार गर्दै गर्दा धादिङको उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएकोछ ।नयाँँ नेतृत्वको आगमन सँगै उद्योगी व्यावसायीको छाता संगठन भित्र सबै खालका विचार आस्था बोकेका विसुद्ध व्यावसायीहरुले प्रवेश पाओस् भन्ने अपेक्षा राख्न सकिए पनि उद्योग व्यावसायीको छाता संगठनको नेतृत्व हत्याउन भएका चलखेल र व्यवहार अनि खर्च हेर्दा भने त्यस भित्र ठुलै लाभको आशंका गर्न सकिन्छ । विसुद्ध व्यावसायीहरुलाई प्रवेश निषेध गर्ने तर नेतृत्वमा पुग्न फर्जी खालका व्यावसायीहरुको झुण्ड तयार गर्ने अहिलेका अवस्था अन्त्य नभइ व्यावसायीहरुको छाता संगठन प्रभावशाली हुन सक्दैन । मुलुकको आर्थिक गतिविधिमा सरकारसँगै साझेदारी गर्दै आर्थिक उन्नतिका लागी तयार हुने व्यावसायीहरुले विशुद्ध व्यावसायीहरुको हक हितको रक्षा गर्दै आर्थिक सम्मुन्नतिको रेखा कोर्न संकीर्णता बोक्नु हुन्न । व्यावासयी जुनसुकै आस्था र विचार धाराका किन नहुन तीनको व्यावसायिक धर्म भनेको राज्यले बनाएको नियम कानून भित्र रहेर आर्थिक गतिविधिमा संलग्न हुदै मुलुकको आर्थिक प्रगतिमा साझेदारी गर्नु हो  ।

व्यावसायीहरु नाफाखोर मात्र हुन् भन्ने आम धारणा रहेको र अहिलेका नाकाबन्दीको समयमा पेट्रोलियम पदार्थ लगायत अन्य वस्तुमा भएको कालोबजारी र मुल्यवृद्धिले त्यो धारणालाई बल दिएकोछ । व्यावसायीहरु प्रति रहेका नकारात्मक धारणा एकातिर  छ भने उद्योग वाणिज्य संघ धादिङ स्वंय आफैमा व्यावसायीहरु बिच पनि तटस्थ नरहेको आरोप लाग्दै आएकोछ ।यस्तोमा  निर्वाचन मार्फत आएको नयाँ नेतृत्वले ती सबै खालका सन्देह र आशंकाहरु नामेट पार्न उदारता देखाउन सक्नुपर्दछ।

तर धादिङको उद्योग वाणिज्य संघ भित्र त्यस्तो खालको व्यावासयीहरुको उपस्थिति न्यून रहेको देखिन्छ ।एउटै परिवार भित्रबाट विभिन्न फर्जी खालका व्यावसाय दर्ता गर्ने अनि शुन्य कारोबार गरी निर्वाचन ताका मात्र नविकरण गर्ने र सदस्यता वितरण गरी नेतृत्व हत्याउने खालको प्रपञ्च यसपालीको निर्वाचनमा पनि देखियो । व्यावसायीहरुको सदस्यता वितरणमा देखिएको यस्ता खालका अवाञ्छित गतिविधिले एकातिर व्यावसायीको हक हितमा नेतृत्वको जिम्मेवारी वोध हुदैन भने अर्को तिर विशुद्ध व्यावसायीहरु पीरमर्कामा पर्दा शरणमा पुग्ने ठाउ रहन्न ।व्यावसाय नगरी फर्म मात्र दर्ता गरी सदस्यता लिनेहरुबाट निर्वाचित भएका नेतृत्व कसरी विशुद्ध व्यावासयी प्रति इमान्दार रहन सक्ला अबको नेतृत्वले मनन गर्नु पर्दछ ।सबै व्यवासायीका समस्या लगभग साझा हुन्छ यस्तोमा कुनै वाद र आस्थामा बाँधिएर विशुद्ध व्यावसायीहरुलाई संघ भित्र निरुत्साहित गर्ने कार्यले संघको विश्वसनीयता र प्रभावकारितामा पनि आशंका उत्पन्न गर्दछ । यसैले नयाँ निर्वाचित नेतृत्वले विगतका कमजोरी सच्याएर यसको गुमेको  विश्वनीयता फर्काओस अनि सबैलाई समेट्न सकोस् ।

धादिङ राजधानीको प्रवेश मार्ग रहेको ,कृषि उत्पादनको प्रचुर सम्भावना, उद्योग व्यावसायका लागी लोसेडिङ लगभग मुक्त जस्ता विविध कारणले यहाँ धेरै उद्योग धन्दाको प्रचुर सम्भावना रहेको तर्फ पनि उद्योग वाणिज्य संघ जानकार हुनु पर्दछ । यस्तोमा नयाँ नेतृत्वले धादिङ भित्र फष्टाउन सक्ने उद्योग धन्दा व्यावसायको पहिचान गरी त्यसका लागी उचित वातारण बनाओस ।जिल्ला भित्र व्यापार व्यावसाय मैत्री वातावरण बनाउन अहिले नेतृत्व सफल भयो र सबैखालका विचारधारा बोकेका व्यावसायीलाई समेट्यो भने नयाँ नेतृत्व पक्कै पनि सफल हुनेछ । यसैले नयाँ निर्वाचित नेतृत्वले विगतका कमजोरी सच्याएर यसको गुमेको  विश्वनीयता फर्काओस अनि सबैलाई समेट्न सकोस । व्यावसायीहरुको छाता संगठन भित्र व्यापार व्यावसाय गर्नेहरुको बाहुल्यता बढोस भन्ने तिर उद्योग वाण्ज्यि संघको नयाँ नेतृत्व लागी परोस्। नयाँ नेतृत्वलाई शुभकामना ।

About The Author