Thu. Feb 27th, 2025

शुक्लाफाँटा वन्यजन्तु आरक्षमा साइबेरियन चरा आउने क्रम सुरु

birds-story२६ पुस, कञ्चनपुर – शुक्लाफाँटा वन्यजन्तु आरक्षका सिमसार क्षेत्रमा साइबेरियन चरा आउने क्रम सुरु भएको छ ।

उत्तरी धु्रवमा चिसो बढ्न थालेपछि साइबेरियालगायतका क्षेत्रबाट चिसो छल्नका लागि यहाँका सिमसार क्षेत्रमा विभिन्न प्रजातिका चरा पुग्ने गरेका छन् ।

हिउँदका बेला साइबेरिया क्षेत्रमा चिसो अत्यधिक हुने र खाने कुरा आहारको कमी हुने भएकाले जाडो छल्न र आहारको खोजीसँगै यसतर्फ चरा आउने गरेका हुन् ।

आरक्षका रानीताल, सलगौडीताल, कालिकिच ताल र तारा ताल क्षेत्रमा साइबेरियन चराको चहलपहलमा बढोत्तरी भएको आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

प्रत्येकवर्ष कात्तिक महिनादेखि नै साइबेरियन चरा यहाँ आउने क्रम सुरु हुन्छ उनले भने – “सिमसार क्षेत्रमा बच्चा कोरलेर चराहरु चैतदेखि जेठ महिनासम्म पुनः साइबेरियालगायतका क्षेत्रमा फर्कने गरेका छन् ।” आरक्षमा रहेका प्राकृतिक तालको व्यवस्थापन र कृत्रिम पोखरी निर्माणले चरा आउने क्रममा विगतको तुलनामा बढोत्तरी भएको उनले बताए ।

एकवटै तालमा ३० देखि १५० प्रजातिका चरा एकसाथ हेर्न सकिने भएकाले पर्यटक मङ्सिरदेखि जेठसम्मको समयमा शुक्लाफाँटा पुग्ने गरेका छन् ।

शुक्लाफाँटा आरक्षसँगै चौधर नदी, महाकाली नदी, सनवोरा, स्याली नदी, बन्दाताल र प्याराताल क्षेत्रमा समेत साइबेरियन चराको हुललाई हेर्न सकिन्छ ।

महाकाली नदीमा भारतले सारदा ब्यारेजबाट सम्झौताअनुसार पुलभन्दा तलको क्षेत्रमा ३५० क्युसेक पानी छोडिनुपर्ने प्रावधान रहेको भए पनि तीन वर्षयतादेखि भारतले महाकाली नदीमा पानी नछोड्ने गरेकाले साइबेरियन चराको आहार र विहारमा समेत कमी देखिन थालेको चरा संरक्षणको क्षेत्रमा क्रियाशील डुठ्ठा रानाले बताए ।

हिउँदे मौसम सुरु हुँदा साइबेरियालगायतका क्षेत्रबाट ३० बढी प्रजातिका हाँसमात्रै यहाँ पुग्ने गरेका छन् । रासस

About The Author

अन्य समाचारहरु: