२६ पुस, धादिङ – श्रीलंकासँगको दोस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको छ ।
आइतबार ओकल्याण्डमा भ्रमण टोली श्रीलंकाले प्रस्तुत गरेको एक सय ४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्याण्डले १० ओभरमा मात्रै एक विकेट गुमाएर एक सय ४७ रन बनायो । जितका लागि दुई रन चाहिएको अवस्थमा कोलिन मुनरोले छक्का प्रहार गरेपछि न्युजिल्याण्डले एक सय ४७ रन बनाएको हो । न्युजिल्याण्डका मार्टिन गुप्टिलले २५ बलमा ६३ रन बनाए ।
यस्तै कोलिन मुनरोले ५० तथा केन विलियम्सनले ३२ रनको योगदान दिए । श्रीलंकाका थिसरा परेराले एक विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाले सबै ओभर खेल्दै ८ विकेट गुमाएर एकसय ४२ रन बनायो । श्रीलंकाका एन्जेलो म्याथ्युजले नट आउट ८१ तथा तिलकरत्ने दिलशानले २८ रनको योगदान दिएपनि हार टार्न सकेनन् ।
न्युजिल्याण्डका ग्रान्ट एलिवटले चार तथा आडम मिल्नेले र मिचेल सनटनरले समान दुई दुई विकेट लिए । दुई ट्वेन्टी–ट्वेन्टीको श्रृँखला न्युजिल्याण्डले २–० ले जित्यो । गएको बिहीबार भएको पहिलो ट्वेन्टी–ट्वेन्टीमा न्युजिल्याण्ड तीन रनले विजयी भएको थियो । श्रीलंका यसअघि भएको पाँच एक दिवसीय श्रृँखलामा ३–१ तथा दुई टेस्टको श्रृँखलामा २–० ले पराजित भएको थियो ।