१५ पुस, काठमाण्डाँै । जनताको गुनासो सुन्नका लागि स्थापना गरिएको हेलो सकरमार सबैभन्दा बढी गुनासो कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार असफल भएकामा नै केन्द्रित भएको छ ।
भारतको अघोषित नाकाबन्दीपछि मुलुकभित्र पेट्रोलियम पदार्थको आयात कम भएको, खाद्यान्न सामग्रीको मौज्दात रहे पनि बढी मूल्य लिएर बिक्री वितरण गरेको गुनासो बढ्ता टिपाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा स्थापना भएको हेलो सरकारमा गत मङ्सिर महिना आएका गुनासोलाई मात्रै हेर्ने हो भने कालोबजारीमा सम्बन्धमा आएका गुनासो नै बढी रहेको पाइएको हो ।
नागरिकले सार्वजनिक सेवा समयमा नपाएको, सेवामा विभेद भएको, अतिरिक्त शुल्क लिएको, सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयले जनतालाई सेवा दिनेभन्दा पनि जिम्मेवारी पन्छाउने, आलटाल गर्ने तथा कर्मचारी नै जिम्मेवार नबनेको गुनासो बढी आएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव श्रीधर सापकोटाले जानकारी दिनुभयो ।
पेट्रोलियम पदार्थ सहजरुपमा नपाइएको, खाना पकाउने ग्यास पहुँच भएका व्यक्तिले मात्रै लिएको तथा वितरण प्रणाली पारदर्शी नबनाइएको तथा गरिब आधारभूत तहका जनता बढ्ता दुःख पाएको गुनासो आएको उहाँको भनाइ छ ।
यस्तै नेपाल विद्युत् प्राधिकरणले तोकिएको समयभन्दा बढी समय विद्युत्भार कटौती गरेको, नेपाल टेलिकमको सेवाको गुणस्तर नभएको गुनासो पनि बढी मात्रामा आएको पाइएको छ । गत मङ्सिर महिनामा ५६८ गुनासा आएका र तीमध्ये ३७८ अर्थात् ६६.५५ प्रतिशत गुनासो सुनुवाइ भएको छ ।