१५ पुस धादिङ – तमु ल्होछार पर्व धादिङ सहित गुरुङ बसोबास भएका ठाउँमाआज धुमधामसँग मनाइँदैछ । नयाँ वर्षका रूपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्छन् ।
विदेशमा रहेका यो समुदायका सदस्यले पनि एकापसमा शुभकामना आदानप्रदान गरेर यो पर्व मनाउने गरेका छन् । गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।
‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । ल्होछारको अवसरमा आज धादिङबेसीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरीएको छ । धादिङ उद्योग वाणिज्य संघको हलमा विहान ११ बजे शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरीएको छ । सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदा समेत दिने गरेको छ ।
गुरुङ समुदायकोे नयाँ वर्ष तमु ल्होछारका अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाइन लागेको यो पर्वको आफ्नो छुट्टै मौलिक परम्परा रहेको बताउनु भएको छ ।