१० पुस, काठमाडौं – भारतीय नाकाबन्दीपछि एक हजार मेट्रिक टन पेट्रोल सहयोग गरेको चीनले थप इन्धन सहयोग गर्ने भएको छ। चीनका उपराष्ट्रपति ली युनचाओले नेपाललाई थप इन्धन सहयोग दिन सकिने बताएका हुन्।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बिहिबार बेइजिङमा भएको भेटवार्तामा उपराष्ट्रपति लीले पहिले दिएको एक हजार मेट्रिकटन सहयोग स्मरण गर्दै थप हसयोग दिनसक्ने उल्लेख गरेका हुन्।
बेइजिङस्थित सरकारी मुख्यालय ग्रेट हलमा भएको भेटवार्तामा सीमा नाकाहरू व्यवस्थित गर्ने र पारवहन तथा व्यापार सम्झौता अगाडि बढाउन महत्व दिनेबारे छलफल भएको छ। चीन–नेपाल कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिक उत्सवको अवसरमा भएको भेटवार्तामा छ दशक लामो सम्बन्धको समीक्षा भएको थियो।
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेका ली र उपप्रधानमन्त्री थापाबीचको भेटमा द्विपक्षीय सम्बन्ध विस्तारका अन्य विभिन्न पक्षबारे छलफल भएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लेइले संविधान लागू भएर नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणलाई दुवै देशले महत्व दिएको बताउँदै नाकाबन्दीले निम्त्याएको संकट, चीनले गर्न सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माण लगायतका विषयमा वृह्त छलफल भएको संकेत गरे ।
‘नेपाली टोलीको भ्रमणको क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्ध विकास सम्बन्धी अर्को वर्षको योजना, सिमापार व्यावहारिक सहयोग तथा दुई पक्षीय चासोका अन्य विषयहरूमा आ–आफ्नो विचार आदान प्रदान गर्नेछन्’, बिहिबार साँझ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता होङले भने, ‘यो भ्रमणले आपसी विश्वास बढाउने, सहयोग विस्तार गर्ने तथा मित्रतालाई अझ गहिरो बनाएर वृहत् सहयोगात्मक साझेदारी विकास गर्नेछ।’
शुक्रबार चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि नै चीनका उपराष्ट्रपति लीसँग उपप्रधानमन्त्री थापाको भेटवार्ता भएको हो। विदेशमन्त्री वाङको निमन्त्रणामा उपप्रधान तथा परराष्ट्रमन्त्री थापा कानुन मन्त्री अग्नि खरेल सहित नौ सदस्यीय टोलीको नेतृत्व गरी छ दिने चीन भ्रमणको क्रममा बिहीबार बेइजिङ पुगेका हुन्।
भारतले झण्डै तीन महिनादेखि लगाएको नाकाबन्दीले दिल्ली र काठमाडौंबीच सम्बन्ध निकै चिसिएको बेला बेइजिङमा उच्च भेटवार्ता भएको हो। उपप्रधानमन्त्री थापाको टोली बिहिबार साँझ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको थियो।
नागरिकबाट