भुकम्प पछि जिल्लाको स्वास्थ्य अवश्था कस्तो देख्नुभएको छ ?
वास्तवमा भन्नुपर्दा भुकम्पले निम्त्याएको समस्याबाट अझै हामि माथी उठ्न सकिसकेको स्थिती छैन । हाम्रा अधिकांश स्वास्थ्य चौकीहरु अझै पनि टेन्टमा नै संचालित छन् । जस्ले गर्दा जनतालाई प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराऊन नसकेको हो की भन्ने महसुस गरेको छु मैले । जम्मा ५३ वटा स्वास्थ्य चौकी मध्ये ३३ वटा स्वास्थ्य चौकी पुर्ण रुपमा क्षती, १३ स्वास्थ्य चौकी आंशिक क्षती भएका छन् । ७ स्वास्थ्य चौकी भने सुरक्षित नै रहेको छ । त्यसैगरी हाम्रो जम्मा १६ वटा सुरक्षित प्रसुती केन्द्र ( वर्थीङ सेन्टर ) रहेकोमा १३ वटा पुर्ण रुपमा क्षती भएको छ । प्राथमिक स्वास्थ केन्द्र र जिल्ला अस्पताल धादिङ पनि आंशिक रुपमा क्षती ग्रस्त अवश्थामा नै रहेका छन् । भवनको वावजुत पनि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोग तथा हाम्रा सम्पुर्ण स्वास्थ्य कर्मीहरुको तत्परताका कारण हामि निरन्तर रुपमा जनताको सेवामा लागिरहेका छौँ ।
क्षतीग्रस्त स्वास्थ्य भवनहरुको पुनः निर्माण सुरु भयो ?
पुनः निर्माण भन्दा पनि हामी अस्थाई भवन निर्माणमा लागि परेका छौँ । सम्भवत यो डिसेम्वर बाटै काम सुरु हुन्छ । अस्थाई भवन निर्माणका लागि हामिलाई विभिन्न एनजीयो आएनजीयोहरुको सहयोग मिलेको छ । डिआइवेडले २० वटा, युनिसेफले ८ ओटा, हिमालयन हेल्थ केयरले १२ र केयर नेपालले ५ वटा अस्थाई स्वास्थ्य भवन निर्माणमा सहयोग गर्ने जनाएको छ । अहिले सम्म चाहिँ हाम्रा अधिकांश स्वास्थ्य संस्थाहरु टेन्टमा नै संचालन भइरहेका छन् ।
नाकाबन्दीको मार स्वास्थ्य क्षेत्रमा पनि छ, नियमित औषधी र खोप सेवालाई कसरी संचालन गरिरहनुभएको छ ?
धेरै राम्रो प्रश्न गर्नुभयो । अन्य क्षेत्रमा जस्तै स्वास्थ्य क्षेत्रमा पनि नाकाबन्दीले निकै नराम्रो प्रभाव पारिरहेको छ । हामीसंग एन्टीबायटिक, प्यारासिटामोल, क्याप्सुल, एलर्जीका औषधीको प्रयाप्तता छैन । केन्द्रीय मेडिकल स्टोर र क्षेत्रीय मेडिकल स्टोरबाट केही मात्रामा औषधी आएकाले पुषको १५÷१६ गते सम्म पुग्न औषधी हामि संग छ । नाकाबन्दीले विसीजी खोप सेवा लगभग १ महिना सम्म नै रोकिएको थियो, अहिले भने केन्द्रबाट औषधी उपलब्ध भएकाले सेवा सुचारु गरिरहेका छौँ । आँखाका मलमहरु, आँखाका औषधी, छालाका औषधीहरुको पनि अभावै रहेको छ । अभावै अभावका वावजुत पनि हामि जिल्लाका ९५ प्रतिशत बालबालिकाहरुमा खोप सेवा पु¥याएका छौँ । ८० प्रतिशत महिलाहरुले स्वास्थ्य संस्थामा गई प्रसुती सेवा लिइरहनुभएको छ । त्यस्तै जिल्लाका ६४ प्रतिशत दम्पत्तीहरुको परिवार नियोजनको सेवा लिइरहनुभएको छ । ७० प्रतिशत क्षेयरोगीहरुले उपचार लिइरहनुभएको छ भने जिल्लामा रहेका १ सय ७७ जना एचआएभि संक्रमितहरु मध्ये ५१ जनाले हाम्रो इआरटी सेन्टरबाट नियमित रुपमा औषधी सेवन गरिरहनुभएको अवश्था छ । यि तथ्याङ्क हेर्दा समस्याकै विचमा पनि हामिले धेरै काम गरिरहेका छौँ भन्ने लाग्छ ।
पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएको मुख्य समस्या चाहीं के हो ?
अझैपनि जिल्लाको दक्षिणी भेगका अधिकांश बालबालिकाहरु कुपोषणको सिकार भइराखेको अवश्था छ । सानै उमेरमा विवाह गर्ने प्रचलन पनि अझै विद्यमान छ । जस्ले मातृ तथा शिशु मृत्युदरको डर पनि उत्तिकै छ । धेरै बच्चा जन्माऊने, जन्मान्तर नराख्ने, परिवार नियोजनका साधन प्रयोग नगर्ने जस्ता समस्या पनि अझै धेरै छ । धुम्रपान, मद्यपान लगायतका समस्या पनि उस्तै छ ।
यस्ता समस्या समाधानका लागी के कस्ता प्रयासहरु भइरहेका छन् त ?
हामिले समुदाय स्तरमा जनचेतनता मुलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । हाम्रा महिला स्वास्थ्य स्वयम्सेविकाहरुको भुमिका यसमा निकै उल्लेखनिय रहेको छ । वडा वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुले खाना, पानी, सरसफाई, परिवार नियोजनका साधन लगायतका विषयमा गाऊँ गाऊँमा स्वास्थ्य शिक्षा दिँदै आइरहनुभएको छ । उहाँहरुले समुदाय स्तरमा बालबलिकाहरुलाई सन्तुलीत खाना खुवाऊँदा कुपोषणको डर नहुने, सरसफाईमा विशेष ध्यान दिनुपर्ने, जाडोको समयमा प्रयाप्त मात्रामा झोलीलो पदार्थ खुवाऊनुपर्ने लगायतका विषयमा जानकारी गराऊँदै आउनुभएको छ । गाऊँ गाऊँमा महिला समुह, किशोरी समुह, बालक्लब, युवा क्लब लगायतका समुहहरु छन् । उहाँहरुले पनि स्वास्थ्यको क्षेत्रमा निकै ठुलो योगदान पु¥याइरहनुभएको छ । गाऊँ गाऊँमा गठित समुहहरुले धुम्रपान तथा मद्यपान नियञ्त्रणका लागी झन् कडा रुपमा लागि पर्नुभएको छ । मध्यपान गर्ने, समाजमा हो–हल्ला फैलाऊनेलाई दण्ड सजायको व्यवश्थाले पनि समस्या विस्तारै नियण्त्रण हुँदै छ जस्तो लाग्छ । विभिन्न विद्यालयमा गठित बालक्लबहरु बालविवाह नियण्त्रणमा पनि लागि पर्नु भाछ । हामी विभिन्न नाटक, अन्तरक्रिया, साँस्कृतिक कार्यक्रमको माध्यमबाट गाऊँ गाऊँ सम्म स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कुरा लिएर पुगिरहेका छौँ । विभिन्न संघसंस्थाहरुको सहयोग पनि हामि संगै छ । त्यसैले पनि विस्तारै समस्या समाधान हुँदै जानेमा हामि विस्वश्त छौँ ।
अब थोरै विस्थापित शिविरका नागरिकहरुको कुरा गरौँ, उहाँहरुको स्वास्थ्य सुरक्षामा जिल्ला जनस्वास्थ्य कार्यलय धादिङले के कस्ता काम गरिरहेको छ ?
उहाँहरुको स्वास्थ्य सुरक्षा प्रति हामी निकै संवेदनशिल छाँै । दामगाडे शिविरमा अझै पनि स्वास्थ्य क्लिनिक संचालन भइरहेको छ । अल्छीडाँडा शिविरमा केहि समय अगाडी देखी मात्रै रोकिएको छ । शिविरमा बस्नुभएकाहरु माझ हामीले विभिन्न स्वास्थ्य कार्यक्रमहरु पु¥याइरहेका छौँ । यो चिसो मौषममा हुन सक्ने विभिन्न स्वास्थ्य समस्याबाट बच्नको लागि तातो झोलीलो पदार्थ खान, न्यानो कपडा लगाऊन, कटनका कपडाको प्रयोग गर्न, सकेसम्म विहान वेलुका घरभित्रै बस्ने तथा धुलो धुँवाबाट बच्न सुझाव दिइरहेका छौँ । बालबच्चाको स्वास्थ्य प्रति सजग रहन पनि सुझाव दिइरहेका छौँ । हामि उहाँहरुको स्वास्थ्य सुरक्षामा सदैव तल्लिन छौँ ।
अन्तमा,
पहिला शिक्षा, सिप र रोजगारी अनि विहेवारी २० वर्ष पारी । हैन भने जिवनको वर्वादी । यो नारालाई मनन गर्नुहुन सबैलाई अनुरोध गर्दछु । स्वास्थ्यको कुरामा हेलचेक्राइ नगरौँ, केहि स्वास्थ्य समस्या परिहालेमा नजिकैको स्वास्थ्य संस्थामा जाऔँ भन्न चाहन्छु । हामी अझै पनि संकटकै स्थितीमा छौँ । यस बेला विभिन्न स्वास्थ्य सम्बन्धी महामारी आऊन सक्छन् । स्वास्थ्य समस्याबाट बच्न र बचाऊनका लागि सबै आ–आफ्नो क्षेत्रबाट लागी परौँ । स्वास्थ्य कार्यलयको मात्रै नभई शिक्षा, खानेपानी, गाविस, जिविस र तपाईहरु जस्ता मिडियाको भुमिका पनि यसमा महत्वपुर्ण हुन्छ । र अहिले सम्म तपाईहरुले पु¥याऊनुभएको योगदानको पनि कदर गर्न चाहन्छु । स्वास्थ्य हामी सबैको सरोकार भन्ने बुझेर सबैले आ–आफ्नो ठाऊँबाट सहयोग गर्न सबैलाई अनुरोध गर्न चाहन्छु । धन्यावाद ।
प्रस्तुती : अस्म्तिा खतिवडा