७ पुस, धादिङ – सूचना विभागले धादिङबेसी आयोजना गरेको दुईदिने घुम्ती शिविरमा ७८ जनालाई परिचयपत्र वितरण गरेको छ ।
विभागले सोमबार र मंगलबार गरी दुई दिनमा ७८ जना पत्रकारलाई प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरेको हो । शिविरमा २ जनाको नवीकरण र २ वटा सञ्चारसंस्थाको टेलिफोन महसुल छुटको लागि सिफारिस गरिएको विभागका शाखा अधिकृत मीठाराम हुमागाईंले बताए ।
आज एक कार्यक्रमको आयोजना गरी प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गरिएको हो । सो अवसरमा विभागका उप सचिव विष्णुभक्त रञ्जितले पत्रकारको घरदैलोमा पुगेर सेवा प्रवाह गर्ने उद्देश्य अनुरुप घुम्ती शिविर गरिएको बताए ।
विभागले विगत तीन वर्षदेखि क्षेत्रीयस्तरमा शिविरको आयोजना गरी परिचयपत्र वितरण गर्दै आएको छ । यस आवमा यसअघि दाङमा शिविरको आयोजना गरी परिचयपत्र वितरण गरिएको थियो ।
नेपालभर १० हजारभन्दा बढी पत्रकार रहेको भए पनि हालसम्म चार हजारले मात्र परिचयपत्र लिएको विभागले जनाएको छ ।