सरिता श्रेष्ठ ५ पुस धादिङ–धादिङको वेनिघाट, गजुरी र धुषाका भुकम्प पीडित यतिबेला गोरेटो बाटो, सडक, कुलो मर्मत जस्ता काममा व्यस्त छन् । हिउँदको महिना अरुबेला भन्दा फुर्सद हुने समयमा गाउँकै विकास निर्माणका काम गर्दा केही पैसा समेत पाउने भएपछि स्थानीयहरु काममा लागि परेका हुन् ।गजुरी गाविस वडा नम्बर २ भैसीखोरकी सन्चमायाँ तामाङ गत ६ दिनदेखि पुरुषहरुसंगै काममा खटिएकी छन् । बैशाख १२ गतेको भुकम्पले घर भत्किएपछि नयाँ घर बनाउन पैसा जुटाउने सपना बोकेर कहिले पुरुषहरुसंगै तोदालो खन्छिन्, कहिले साँबेल चलाउछिन् त कहिले छिना ममाउछिन् । गाउँकै दाजुभाईसंग गाउँमै काम गरेर पुरुषले जत्तिकै पैसा पाउने भएपछि आफु काममा खटिएको सन्चमायाँले बताइन् ।
‘एक हल गोरु थियो भुकम्पको बेला गोठले च्यापिएर म¥यो, पखेरा बारीमा खेती हुँदैन, गोरु किनेको ३० हजार ऋण अझै चुक्तिएको छैन’ साथीहरुसंगै खनिरहेकी सन्चमायाँले एकैछिन उभिएर भनिन् । एउटा टाउको लुकाउने ठाउँ (घर) बनाउन बनाउन सक्छुकी भनेर काम गर्न थालेको उनले बताइन् ।
वेनिघाट ७ की विमला विक पनि यतिखेर चरौदीबाट ज्ञाँजा हुँदै बर्खेडाँडा पुग्ने सडक मर्मतमा साथीहरुसंग कष्ट गरिरहेकी छन् । उनको पनि व्यथा उस्तै छ । ६ जना छोरीहरुको लालनपालन उनको थाप्लोमा छ । धेरै पैसा कमाउने सपना बोकेर विदेश गएका श्रीमानले पनि घरमा पैसा पठाउन सकेका छैनन् । भुकम्पले घरबास उठाएको छ । त्रिपालमुनी ६ जना लालाबाला सहित रात कटाइरहेकी विमला पेटभरी खाने र एउटा घर ठड्याउने (बनाउने) लक्ष्यसहित पुरुष सरह काम गरिरहेकी छन् ।
२ महिना सम्मको पारिवारिक खाद्य सुरक्षाको लागि भुकम्प पीडितलाई कुनै अठ्यारो नपरोस्, आफ्नै गाउँमा काम गरेर केही रकम आम्दानी गरुन् र त्यही रकमले परिवारको लालनपालनमा सहयोग पुगोस् भन्ने उद्देश्य सहित अक्फामको आर्थिक सहयोगमा प्रयास नेपाल धादिङले संचालन गरेको आपतकालिन खाद्य सुरक्षा तथा जीवन जिविकोपार्जन परियोजना अन्तर्गत काम गरेबापत पैसा उपलब्ध गराएको हो ।
परियोजना मार्फत जिल्लाको धुषा, वेनिघाट र गजुरी गाविसमा भुकम्पबाट पिडित बनेकाहरुलाई काम दिई रहेको छ । विस्थापितहरुलाइ दैनिक ८ घण्टा काममा लगाइ ७ सय २० रुपैयाँको बाटो मर्मत गर्ने, ग्रामीण सडक मर्मत गर्ने, नहर तथा कुलो मर्मत गर्ने, मठमन्दिर तथा सार्वजनिक सम्पदाहरु सरसफाई गर्ने कार्यमा संलग्न गराईराखेको छ ।
भुकम्प पिडितहरु बेरोजगार भएर दिन कटाईरहेको तथा उनिहरुलाई दैनिक गुजारा चलाउनको लागि आर्थिक रुपले सस्या परिरहेको अवस्थामा समयलाई सदुपयोग गराउदै विस्थापितहरुको दैनिक गुजारामा सहयोग पु¥याउने उद्येश्यले कार्यक्रम संचालन गरिएको प्रयास नेपालका कार्यक्रम संयोजक लक्ष्मण रेग्मीले बताए । उनले भने ‘पीडित बनेकाहरुको अवस्था विजोग हुँदै गएको छ । नाकाबन्दीको असर त्यहा पनि देखिएको छ । दिनहुँ राहतको भरमा गुजारा चलाउन पनि मुस्किल छ । उनीहरुको आवश्यकता सरकारले मात्र पुरा गर्न सक्दैन त्यसैले रोजगार पाएभने दैनिक खानको लागि त केही सहयोग पुग्छ की भनेर कार्डका आधारमा हामीले काम दिएका छौ ।’
गाउँकै विकास निर्माणको काम गर्दा पैसा समेत पाउने भएपनि स्थानीयहरु खुसी भएका छन् । वेनिघाट २ का बलराम प्रजाले भने, ‘पहिला राहतको मात्र भर पुर्न पथ्र्यो । गाउँमै काम गरेर पैसा पाइन्छ भने हामीले काम गर्नुपर्छ ।’ काम गर्दा महिला र पुरुष दुवैलाइ बराबरी ज्याला पाउने भएपनि काममा महिलाहरु पनि सहभागी भएका छन ।