Thu. Mar 13th, 2025

धादिङका १२ सयलाई कम्बल वितरण, एक विद्यार्थीलाई आजीवन पढाउने प्रतिबद्धता

Blankets-480x300४ पुस धादिङ  – गैरआवासीय नेपाली संघका आइसीसी सदस्य राजेन्द्रकुमार शर्मा (आरके) तथा पिजन इञ्जिनियरिङ कतारले धादिङ जिल्लाको विकट गाविस सेर्तुङका सम्पूर्ण परिवारलाई जाडोका लागि न्यानो १२ सय कम्बल वितरण गरेका छन् ।

गत बैशाखको महाभुकम्पमा परी पीडित बनेका सेर्तुङबासीलाई शर्माले बिहीबार गाउँमा नै पुगेर सहयोग हस्तान्तरण गरेका हुन् । यातायातको सुविधाबाट टाढा रहेको सेर्तुङबासीलाई हेलिकप्टरबाट कम्बल ढुवानी गरी वितरण गरिएको हो ।

कम्बल वितरणका लागि शर्मासँगै एनआरएन उत्तर अमेरिकाका संयोजक सोनाम लामा, बेष्ट रेमिट नेपालका प्रबन्ध निर्देशक श्याम तामाङ, टानका प्रथम उपाध्यक्ष तथा स्थानिय तेज गुरुङ उक्त गाविसमा पुगेका थिए ।

हिमाली भेगमा पर्ने सेर्तुङका अधिकांश परिवार अझ पनि पालमा नै बसिरहेकाले उनीहरुलाई केहि न्यानो बाँड्न र विपतमा पनि हाम्रो साथ छ भन्नका लागि सबै परिवारलाई कम्बल वितरण गरिएको शर्माले सो अवसरमा बताए ।

भुकम्पले काँपेको मन फेरि जाडोले नकाँपोस् भनेर न्यानो बाँड्न आएको बताउँदै शर्माले भने–‘ विकट गाउँमा आएर सहयोग गर्दै दुःख साट्न पाउँदा गौरव लागेको छ ।’

सेर्तुङमा भएको सो सहयोग वितरण कार्यक्रममा गाविसका ९ वडाकै बासिन्दाहरुको उपस्थिति रहेको थियो । अहिलेसम्म गाउँमा प्रयाप्त सहयोग आउन नसकेकोमा एकै पटक १२ सय कम्बल ल्याएर सम्पुर्ण परिवारलाई वितरण गरेकोमा स्थानीयहरुले शर्मालाई धन्यवाद दिए ।

सहयोग वितरण कार्यक्रमका संयोजक समेत रहेका टानका उपाध्यक्ष गुरुङले गाबिसमा अब पुर्ननिमार्णमा पनि यसैगरी सहयोग गर्न आग्रह गरे ।

एक विद्यार्थीलाई आजीवन पढाउने प्रतिबद्धता
यसैबीच, सोही गाविसको च्याम्रादेवी माविमा अध्ययनरत अपाङ विद्यार्थी सुरेश तामाङको आजीवन शैक्षिक खर्च प्रदान गर्ने शर्माले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

पढाईमा तिक्ष्ण तामाङ कक्षा ४ मा अध्ययनरत छन् । शर्माले तामाङलाई तत्कालका लागि केही नगदसमेत सहयोग गरे । विद्यालयमै पुगेका शर्माले सम्पूर्ण बिद्यार्थीलाई खाजा वितरण गर्दै लगनशील भई पढ्न अनुरोध गरे ।

About The Author

अन्य समाचारहरु: