३ पुस , काठमाडौं – संयुक्त अधिराज्य बेलायतले नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको जनाएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भाग लिन पुग्नुभएका उपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गर्नुभयो ।
उहाँले नेपाल–भारत सीमामा देखिएको आपूर्तिको समस्याप्रति चासो राख्दै शीघ्र समस्या समाधान हुने आशा पनि व्यक्त गर्नुभयो । उहाँले बेलायती गोर्खा सैनिकका बारेमा संसदीय समितिको प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकारका तर्फबाट सम्भव भएसम्मका प्रयत्न गरिने वचन दिनुभयो ।
समारोहमा भाग लिन गत मङ्सिर २९ गते त्यसतर्फ प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री थापाले बुधबार आफ्ना बेलायती विदेशमन्त्री हम्मोन्डसँग लन्डनमा भेटघाट गर्नुभएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस अवसरमा उपप्रधानमन्त्री थापाले नेपालको वर्तमान राजनीतिक अवस्थाका साथै हालै जारी भएको नयाँ संविधान र नेपाल–भारत सीमामा इन्धनलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाका बारेमा अवगत गराउनुभएको परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
उपप्रधानमन्त्री थापाले बेलायती गोर्खा सैनिकको समस्यालाई समानताका आधारमा समाधान गर्न र बेलायती सांसद् ज्याकी–डोले प्राइस नेतृत्वको संसदीय प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्न बेलायती सरकारलाई आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री थापाले नेपालमा सत्य तथा मेलमिलाप आयोग गठन भई कार्य प्रारम्भ भइसकेका अवस्थामा नेपाली सेनाका कर्णेल कुमार लामालाई मुक्त गर्न पनि आग्रह गर्नुभएको थियो ।
उपप्रधानमन्त्री थापा बुधबार साँझ दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई शताब्दी भएको अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुनुभएको थियो । उपप्रधानमन्त्री थापाले बेलायती अन्तर्राष्ट्रिय विकास विभागमन्त्री देशमोन्ड स्वायनेसँग पनि भेटघाट गरी दुई देशबीचको विकास सहयोगका सम्बन्धमा कुराकानी गर्नाका साथै खासगरी नेपालको मानवीय अवस्था र भूकम्पपछिको पुनःनिर्माणका योजनाका बारेमा छलफल गर्नुभएको थियो । पुनःनिर्माण प्राधिकरणसम्बन्धी विधेयक पारित भएको अवस्थामा सहयोग र समन्वयका लागि पनि परराष्ट्रमन्त्री थापाले उहाँसँग आग्रह गर्नुभएको जनाइएको छ ।
रासस