२ पुस, धादिङ – आगामी पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने “राष्ट्रिय ब्यापार मेला तथा माछा महोत्सव–२०७२ को तयारी तीब्र पारिएको छ । मेला स्थल बेनिघाट गाँउ विकास समिति वडा नं १ मलेखुमा अहिले स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।
नेपाल राष्ट्रिय वाणिज्य संघ, जिल्ला कार्य समिति धादिङको आयोजनामा हुन लागेको मेलाका लागि प्रचारप्रसार कार्य तीब्र पारिएको छ । मेलाको प्रचारका लागि ३१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १० करोड बरावरको कारोवार हुने आयोजकको दाबी छ । साथै २ लाख दर्शक भित्राउने लक्ष्य राखिएको छ ।
मेलामा माछाका विभिन्न परिकारहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल, कृषिजन्य तथा जडिबुटी, मदिरा तथा सुर्तिजन्य सामग्री, हस्तकला तथा छालाका सामानहरु, सुचना प्रविधि, गारमेन्ट, कृषि प्रविधि प्रदर्शनी, निमार्ण सामग्री, पर्यटन, इलेक्ट्रोनिक सामग्री लगायतका बस्तुहरु प्रदर्शन गरिने संस्थाका अध्यक्ष लोकनाथ डल्लाकोटीले जानकारी दिए ।
मेलामा तरकारी, फलफुलवालीका समूहहरु राखिनेछ । तरकारीबाली तर्फ काउलीबन्दा, फल तरकारी, जरेवाली सागवाली, मसलावाली कन्दमूल, लहरेबाली, कोशबाली लगायतका तरकारीबाली प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै फलफूलबाली तर्फ सुन्तला, केराबालीका समूहहरु रहने भएका छन् । मेलामा राष्ट्रिय कलाकारबाट दैनिक साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै विभिन्न झाँकी, वाजागाँजा, जातजातीका भेषभुषा, मेलाका आकर्षक केन्द्रका रुपमा हुनेछन् ।